Essays

१. ‘मनको मझेरी’ निबन्धसङ्ग्रह (२०६४) download

श्रद्धाञ्जलि एउटी लिम्बूनीलाई


ठूला मान्छेले मर्न अघि मान–भाउ र मरेपछि पनि श्रद्धाञ्जलि पाउँछन् । हुनेका सन्तानले आफ्ना पितृको श्राद्ध गर्दछन् । तर एउटी सामान्य लिम्बूनी महिला अझ मापाकी जसको कुनै सन्तान आज यो भौतिक संसारमा छैनन् यस्ती महिलालाई आज कमसेकम सम्झनेसम्म मानिस पनि छैनन् जस्तो लाग्छ । यसैले मानवीय नाताले अघि सरेर म उनलाई श्रद्धाञ्जलि दिन खोज्दैछु– थोरबहुत जीवनी कोट्याउँदै ।
विक्रम सम्वत् २०३० को दशकमा एउटी साइलीबूढी अर्थात् लिम्बूनीबूढी थिएन् ताप्लेजुङ जिल्लाको हाङपाङ गाउ“मा रहेको सरस्वती हाइस्कुलको खेलमैदानै मुन्तिर । त्यसबेला म उनलाई श्रद्धाभन्दा पनि डरपूर्वक साइलीबजू भन्दथें । उनी हामीजस्ता स्कुले विद्यार्थीका खलनायिका बनेर सधै विद्यार्थीलाई पीडा दिने गर्दथिन् । खेल्दाखेल्दै भकुण्डो मैदानबाट तल उनको बारीमा खस्यो भने तब हाम्रो मुटु ढुक्ढुक् हुने गर्दथ्यो । बुझ्नुपर्दथ्यो साइलीबजूको हँसियाले अब भकुण्डो प्वाल पर्यो । कि त बुझ्नुपर्दथ्यो बूढीले टिपेर घरमा लगेर लुकाइन् । भकुण्डो माग्न गए चल्ला हुर्काउने पोथी कुखुरीले खेदाए झैं हातमा हँसिया उझ्याउँदै विद्यार्थीलाई गुटुटु लखेट्थिन् । त्यसबेला विद्यार्थीको भागाभाग हुने गर्दथ्यो । यस्तै भय र त्रासबीच पनि हामी प्रायः दिनहुँ जसो फुटबल खेल्ने गर्दथ्यौं ।
हाम्रो विद्यालयका दुइटा खेलमैदान थिए । एउटा ठूलो र अर्को सानो मैदान । ठूलो मैदानमा हामी केटाकेटीले त्यत्ति खेल्नै नपाइने । त्यसैले सानो मैदानमा गएर खेल्नुपर्दथ्यो जहाँबाट भकुण्डो सिधै बूढीको बारीमा खस्ने गर्दथ्यो । उसबेला लाग्दथ्यो ती महिला कत्ति शक्तिशाली कत्ति निर्दयी कत्ति छुच्ची ! तर आज त्यसबेलाकी त्यस्ती क्रूर ब्यक्तिको पीडा, मनोविज्ञान बल्ल बुझ्दैछु म । बुझ्न खोज्दैछु वास्तवमा जिउनलाई मानिस बेलाबेला कति कठोर बन्नु पर्दोरहेछ । फूलमा पलाएका काँडाको अर्थ पनि बुझ्दैछु यसैबेला र श्रद्घाञ्जलि स्वरूप केही शब्द कोर्दैछु उनैलाई सम्झँदै ।
एकदिनको कुरो हो, स्कुलको ठूलो मैदानमा विद्यार्थीबीच फुटवल म्याच हुँदैथ्यो । खेलको बीचैमा खेल मैदानको बार नाघेर भकुण्डो गयो सिधै तल बारीमा– भकुन्डो लखेट्दै बूढीले सिधै भकुण्डोलाई हँसियाले ठुँगिदिइन् । भकुण्डो प्वाल प¥यो र हावा गयो– फुसुस्स । विद्यार्थी आवेगमा आए र उनको कोदोबारी उफ्रीउफ्री माडिदिए । कोदोबारी सोत्तर भयो । ठूलो वादविवाद र घम्साघम्सी भयो । त्यत्रा सयौं विद्यार्थीहरूको प्रतिकार साइलीबजू एक्लैले गरिन् । मुखले मनपरी भने पनि कसैले उनलाई छुने आँट चाहिँ गरेन केवल बारी माडमूड गरेर विजय हाँसिल गरेको मूडमा विद्यार्थी फर्किए । त्यत्रो क्षति उनले त्यत्तिकै खपिन् । यसरी उनी यस रूपमा विद्यार्थी, शिक्षकका लागि एकप्रकारकी खलनायिका नै थिइन् ।
तर म भने उनको दुईटा रूप देख्दथें । हाम्रो घर र उनको घर तल्लो घर र माथिल्लो घर अर्थात छिमेकी थियौं हामी । उनी मसँग उनी लिम्बू भाषामा कुरा गर्न खोज्थिन् म बुझ्दथें तर फर्काउन लजाउँथें । नेपाली भाषामैं छोटो प्रत्यत्तर दिएर उम्कन्थें । उता विद्यार्थीसित त्यत्ति कठोर तर छरछिमेकसँगको दैनिक व्यवहारमा उनी सार्है सरल र नरम स्वभावकी थिइन् । मलाई थाहा भएदेखि नै उनका छोराछोरी वा अरू कोही पनि घरमा थिएनन् । न त श्रीमान नै थिए । घरमा निर्धक्क एक्लै बस्थिन् एक्लै, उनको कोही थिएन । वास्तवमा विवाह नै नगरी बसेकी बूढीकन्या थिइन् उनी ।
साइलीबजू दशैंको बेलामा मेरी आमालाई खान बोलाउँथिन् । म पनि आमाको पछ्यौरामा झुण्डिदै उनको घर जान्थें । उनी याङ्गबेन अर्थात लेकमा रूखमा फल्ने एकप्रकारको झ्याउलाई राँगाको रक्तीमा पकाएको परिकार र कोदोको जाँडले आमालाई सत्कार गर्दथिन् । र मलाई पनि सानो बोटुकोमा याङ्गबेन र काँसको लोहोटामा पानी दिन्थिन् । याङ्गबेन मलाई सार्है  मीठो लाग्दथ्यो । पीरो पखाल्न म पानी पिउँथें । कहिले काहिँ दुम्से कुखराको प्वाँखको अचार खुवाउँथिन् । पीरो तर स्वादिलो हुन्थ्यो । त्यो पनि म पानीसित मजाले खाइदिन्थें । यस्तो परिकार चाडपर्वमा मात्र हुन्थ्यो । आमासँग अरुबेला जाँदा चाहिं छ्यापीको अचार, कहिले दुङ्गदुङ्गे पातको अचार, कहिले रामभेंडाको काँचै पिसेको अचार बनाउँथिन् । म आमाको छेउमा बसेर सुटुक्क आमाको अचार अलिअलि चाट्थें मलाई त्यसबेला पिरो पिरो मीठो मीठो लाग्दथ्यो ।
म त्यसबेला सायद पाँच छ वर्षको थिएँ होला । आज चालीस वर्षपछिसम्म पनि त्यो याङ्गबेन, छ्रयाप्पीे, दुङ्गदुङ्गे र रामभेंडाको अचारका स्वाद जीब्रोमा अझै टाँसिएकै छ । आजकल मैले कतै याङ्गबेन, दुङ्गदुङ्गेको साग देखें भने उनकै झल्झल्ती याद आउँछ । यत्ति मात्र होइन, कतै घिरौला र कुभिण्डो देखें भने पनि तिनै साइलीबजूको याद आउँछ । उनी बाख्राको कटेराको छानाभरि घिरौंला र कुभिण्डो फलाउँथिन् । म उनको आँगनको बाटो भएर हिड्दा दिनदिनै त्यो फुलेको फलेको बढेको पाकेको हेर्दै हिड्थें । बजुले ती कुभिण्डो, घिरौला, फर्सीहरू पाकेपछि कुनबेला टिप्थिन् कुन्नी ! पछि म त्यही बाटो हिंड्दा बार्दलीमा बसेर तिनीहरूले मलाई हेर्दै हाँस्दै बसेकाझैं देख्थें ।
हेर्दै मापाकी साइलीबजूसित बोल्न भने म हत्तपत्त सक्तिनथें निकै ठूलो भइञ्जेलसम्म पनि । काठमाडौमा चिकित्साशास्त्रको प्रमाणपत्रतह सकेर म मेरो गाउँको हेल्थपोष्टमा इञ्चार्जको रूपमा वि.स.२०३७ सालमा खटिएर आएँ । त्यत्तिबेला साइलीबजू निकै बूढी भइसकेकी थिइन् । एकदिन उनी घरको फलैंचामा बसेर आमासँग गफ गर्दै थिइन् । नरम स्वरमा उनले मलाई भनिन् “नवराज यो चिलाउने घाउको औषधी छ भने मलाई दे न !” भन्दै उनको टाउकोमा आएको घाउ देखाइन् । मैले हेरें टिनिया केपिटिस अर्थात टाउकाको दाद रहेछ । मैले स्वास्थ्य चौकीमा भएको औषधी ल्याइदिएँ । त्यसले केही जाती भयो । पछि २०४० सालदेखि म सरुवा भएर अन्यत्र जिल्लातिर लागें ।
पछि घर आउँदा एकदिन थाहा पाएँ उनको मृत्यु भइसकेछ । बडो कष्टपूर्वक मृत्यु भएछ । थाहा पाएर मलाई सारै नरमाइलो लाग्यो । देख्छु, विद्यालय र खेलमैदान अन्यत्र सारिएको छ । हामीले उहिले खेल्ने मैदान पनि शून्य छ । तल साइलीबजूको घर एक्लै छक्कपर्दै ठिङ्ग उभिएको छ, यता म जस्तै । ढोका बन्द छ ताला लागेको छ घरमा । फुटवल खेल्ने विद्यार्थी पनि कोही छैनन् । कस्तो बिडम्बना १ साइलीबजू जब बितिन् विद्यालय र खेलमैदान पनि अन्यत्रै सरेछ विद्यार्थी पनि उतै गएछन् । बाँचुञ्जेलसम्म विद्यार्थीसित पौंठेजोरी खेल्नुपर्ने नियति रहेछ कठै साइलीबजूको १
जे होस्, यस्ती दृढ महिला मैले कमै देखेको छु । आफ्नो इच्छा र आदर्शमा सधैं अटल र अविचलित महिला जसको बाँचुञ्जेल त कोही थिएन नै । मरेपछि पनि उनलाई खै कसले सम्झला र ! कसैले सम्झे पनि त्यसबेला उनको त्यो कोदोबारी माड्ने उही विद्यार्थी जो आज म जस्तै कताकता छरिएका होलान् । तिनले कदाचित् सम्झे पनि एउटी खलपात्रको रूपमा मात्र उनलाई सम्झेलान् ।
तर आज मैले उनलाई एउटी संघर्षशील नायिकाको रूपमा सम्झेको छु । यसबेला उनको फोटो सम्म छैन मसँग तैपनि उनको तस्वीर मनमा साँचेको छु । मैले बाल्यकालमा खाएका ती स्वादिला परिकार निश्चय अब म कहिल्यै खान पाउने छैन । कतै कसैले दिइहाले पनि अव म स्वास्थ्यको कारण खान सक्ने छैन । सदा स्वाद र उनको याद मलाई एकसाथ आइरहने छ । एउटी दृढनिश्चयी व्यक्तिका रूपमा बाँच्न सफल नायिकालाई म सदा श्रद्धा गर्नेछु । खुशीसाथ जीवनभर एक्लै बाँच्ने अनि एक्लै मर्ने स्वर्गीय साइलीबजू अर्थात् मापाकी तर मनकारी लिम्बूनीलाई मेरो भावपूर्ण श्रद्धाञ्जलि ।

२.  ‘समयको स्वाद’ निबन्धसङ्ग्रह (२०७०) download

सुर्तीको स्वाद


मैले सबैभन्दा धेरै आशीर्वाद आगो ओसार्दा पाएको छु । अर्थात् बाल्यकालमा चुरोट, बिंडी तथा सुर्ती सल्काउन चुल्होबाट आगो ल्याइदिँदा गाउँघरका धेरै अभिभावकहरूबाट मैले थुप्रै आशीर्वाद पाएँ । अँगेनाबाट चिम्टाले आगोको कोइला च्यापेर ल्याइदिँदा त्यसबेला मलाई धेरैले ‘ठूली–ठूली’ भनेर आशीर्वाद दिए । कसैले ‘जम्दार हुनु’ ‘सुब्दार हुनु’ भनेर आशीर्वाद दिए । कसैकसैले ‘जर्नेल हुनु’ ‘कर्नेल हुनु’ भनेर पनि आशीर्वाद दिए । तर मलाई भने सानोमा पाइलट बन्ने इच्छा थियो । किनभने कहिलेकाहीँ हाम्रो गाउँमाथिको आकाशमा हवाईजहाज, हेलिकप्टर उड्ने गर्दथ्यो त्यो देखेपछि मलाई भित्रैदेखि पाइलट हुने इच्छा जागेको थियो । ‘पछि तँ के हुन्छस् हँ ?’ भनेर कसैले सोध्दाखेरि म सोही ईच्छा प्रकट गर्ने गर्दथें । त्यो थाहा पाउने कतिपयले मलाई ‘पाइलट हुनु’ भनेर पनि आशीर्वाद दिएका थिए । तर त्यो आशीर्वाद पूरा भएन ।
मेरो घरमा दोकान पनि थियो । दोकानमा ग्राहकहरू शिव बिंडी, गणेश बिंडी किन्दथे । कसैले आशा चुरोट, गैंडा चुरोट र हुनेखानेले चाहिं याक चुरोट किन्दथे । र त्यो सल्काउन कतिपयले मलाई ‘आगो ले ले ! नवराज !’ भन्दथे । म पनि बडो फूर्तिकासाथ चुल्होमा पुग्दथें– आगो लिन । आज्ञाकारी झैं चुल्होबाट चिम्टाले आगोको कोइला च्यापेर ल्याइदिन्थें । कहिले बल्दै गरेको दाउरा तानेर खुरूखुरू ल्याइदिन्थें । कहिलेकाहीं भर्खरै बल्न थालेको दाउरै उठाएर लुरूलुरू ल्याइदिन्थें । यसरी आगो झिक्दा अगेना निभेमा यता आमाको खप्की खानुपर्दथ्यो, त्यसैले त्यो काम प्रायः म आमाको आँखा छलेर गर्ने गर्दथें । त्यसबेला आगो पुर्याएपछि म उपर बर्सने आशीर्वाद पाएर म बुझिनबुझी फुरूङ्ग हुन्थें ।
उसबेला म सायद चुल्होबाट आगो जेनतेन ल्याउनसक्ने त्यस्तै चार–पाँच वर्षको बालक हुँदो हुँ । त्यसबेला कहिलेकाहिँ मलाई मनमा एकप्रकारको जिज्ञासा उठ्ने गर्दथ्यो– ‘कस्तो हुन्छ होला ? त्यो सूर्तीको स्वाद’ भनेर । एकपटक मैले उनीहरूले फालेका ठूटा उनीहरू उठेर गएपछि सल्काएर चाखें । तर, अहँ मलाई त्यो पटक्कै मीठो लागेन । मलाई त्यसको स्वाद बन्दै मन परेन ।
मलाई सानोमा मीठाई असाध्यै मन पथ्र्याे । घरैमा दोकान भएकोले चोर्दै भए पनि म मीठाई अलि बढी नै खान्थें । मुखको सरसफाई नपुगेर होला सानैमा मेरो दाँत कीराले खायो । त्यसबेला अहिलेजस्तो अस्पताल जाने र उपचार गर्ने चलन थिएन । घरैमा घरेलु उपचार गर्ने गरिन्थ्यो र केही नलागेपछि मात्र अस्पताल खोजिन्थ्यो । फेरि त्यसबेला अहिले जस्तो गाउँगाउँमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी हुँदैनथे । म त्यसबेला आफ्ना पीर ठूलालाई भन्न डराउँथें । तेरो दाँतको कीरा पनि धुवाँले मर्छ’ भनेर सिकायो । उसले मलाई कतै सरलाई पोल लाउला कि भन्ठानेर हो वा किन हो धेरैबेर राखेर मजाले सम्झायो र भन्यो- ‘हेर भान्सामा भएका काठपात धुवाँले गर्दा कीराले खाँदैनन्, त्यस्तै त हो नि दाँत पनि !’ भनेर सुर्ती खान मलाई उक्साउनसम्म उक्सायो । उसका कुराले म निकै प्रभावित भएँ र त्यसपछि मैले लुकिछिपी एक–दुई मूठा बिंडी बाआमाका आँखा छलेर दोकानबाट चोरेर खाएँ ।
यसरी मैले सुर्ती खान थालेको एकमहिना जति पनि बित्न नपाउँदै दुर्घटना भयो (उसबेलाको लागि) । एकदिन हाम्रो सरस्वती हाईस्कुलमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । जसलाई हामी ‘नाटक’ भन्दथ्यौं । नाटक साँझमा हुने गर्दथ्यो । नाटक हेर्न पाइने भो भनेर त्यसबेला हामी स–साना विद्यार्थीका भूईंमा खुट्टा थिएनन् । ‘आज स्कुलमा नाटक छ’ भनेर आमालाई कन्याएर छिटो–छिटो खाना बनाइ मागेर साँझ नपर्दै हामी नाटकस्थलमा पुग्दथ्यौं । बेलैमा नाटक मञ्चन हुने स्थलमा पुगेर मञ्च तयारी गरेको, माइक परीक्षण गरेको, कलाकारहरूको हाऊभाऊ, गुरूहरू र दाइदिदीहरूले सांस्कृतिक कार्यक्रमको चाँजोपाँजो मिलाएको हेर्न साह्रै मजा लाग्दथ्यो । त्यसबेला केटामान्छे केटी बनेको अनि केटीमान्छे केटा बनेको देख्दा झन् रमाइलो लाग्थ्यो ।
त्यो दिन साँझ परिसकेको थियो तर नाटक सुरू भैसकेको चाहिं थिएन । मैदानको एक छेऊमा छेलिएर म, शंकर र योवन तीनभाइ मजाले गफ हाँक्दै बिंडी तान्दै थियौं । हेडसर गणेशबहादुर राईको डेराबाट एकजना मानिस हातमा टर्चलाइट बालेर हामीतिर आयो । हामी हेडसरको डेरा र सांस्कृतिक कार्यक्रमस्थलको करिब बीचमा थियौं । दिउँसैदेखि दाइदिदीहरू हेडसरको डेरा र मञ्चमा ओहोरदोहोर गर्दै थिए । कोही विद्यार्थी दाइ वा दिदी आएको होलान् भन्ठान्यौं र टर्चवालालाई उति ध्यान दिएनौं । तर अचम्म ! त्यो टर्चलाइट त हामीतिरै पो सोझियो । ‘को हँ’ भनेर सोध्ने टर्चवाला त कुनै दाइ नभएर हेडसर गणेशबहादुर राई पो रहेछन् । उनको अनुहार अँधेरोमा देखिएन तर उनको आवाज र खप्की चिनिहाल्यौं । हत्तपत्त हातको बिंडी पछाडि लग्दै अर्को हातले माडमुड गरेर आगो मार्दै त्यहाँबाट कुलेलम् ठोक्यौं । त्यसबेला हाम्रो हंसले ठाउँ छाड्यो । किनभने हामीलाई थाहा थियो हेडसर अति कठोर हुनुहुन्छ, उहाँले बेतले हातमा हिर्काउँदाखेरि तर्तरी रगत आउँछ भनिन्थ्यो । हामी उहाँलाई सिधै हेर्न पनि डराउँथ्यौं ।
अब नाटक अर्थात् सांस्कृतिक कार्यक्रम हेर्ने हाम्रो उत्साह हावा फुस्केको भकुण्डोझैं चाउरी पर्यो र हामी सल्याकसुलुक पर्यो । तैपनि नाटक हेर्न बिरालाझैं सुटुक्क दर्शकका बीचमा घुस्रियौं । कार्यक्रम सुरू हुने बेलामा विद्यार्थी युनियनका सभापति लक्ष्मीप्रसाद प्रसाईंले माइकबाट ‘एउटा अत्यन्त जरूरी सूचना’ भनेर उद्घोषण गरे । उनले भने- ‘आज केही विद्यार्थीहरूले विद्यालय परिसरमा अनुशासनहीन काम गरेको हँदा, ती विद्यार्थीहरूलाई भोलि कडासेकडा कारबाही गरिनेछ ।’ यो सूचना हामीलाई नै लक्षित गरेर प्रसारण गरेको जस्तो लाग्यो र सुनेपछि मलाई सपना हो कि विपनाझैं भो । ‘त्यसै त बुहारी भट्मास खाएकी !’ भनेझैं त्यसै त यसअघि नै हराएको हाम्रो सातो त्यसमाथि त्यो सूचनाले त झन् अब हाम्रा बाँच्ने दिन गएछन् भन्ने लाग्यो र साह्रै निराश भएँ । त्यसै-त्यसै रून मन लागेर आयो । तर कसको सामू के भनेर रूनु र १ सायद, घरमा बाआमाका कुटाइ खाँदाखाँदा अनि स्कुलमा गुरूहरूका खप्की र कुटाइले होला मलाई हरेक दुखाइमा मरिन्छ कि भनेर डर लाग्दथ्यो । यसैले सायद मभित्र हिंसाप्रति सानैदेखि त्रास र त्यो भन्दा बढी घृणा उत्पन्न भयो । म बालक स्वभाविक रूपमा स्वच्छन्द भएर बाँच्न, हाँस्न र खेल्न खोज्दथें र किताबलाई गत्ता लगाएर राखेजस्तै गरेर जीवनलाई जानिनजानिकनै साह्रै जतन गर्दथें । तर आफ्ना पीडा आफ्ना बाआमालाई व्यक्त गर्न नसक्ने म लठुवा त्यस घटनापछि दिनभर साथीसँग भने रूञ्चे हाँसो मात्र हाँसें । सपनामा पनि कतिचोटि त म आफै मरेको पनि देखें ।
हामीलाई भोलि के कारबाही होला भनेर स्कुल नजाउँ भन्ने पनि लाग्यो तर के गर्नु ! नगए बाआमाले नै कुटिहाल्छन् । सरहरूले त झन् के बाँकी राख्लान् र ! भन्ने लाग्यो । जेहोस्, नून खाएको कुखुराझैं स्कुल गइयो । र धेरै दिनसम्म सातो हराएको बिरामीझैं भएँ म । राति नाटक हेर्दा पो तर्सिएर सातो गयो होला भनेर आमाले फेदाङ्बा लगाइ दिनुभयो ।
अहिले सम्झँदा लाग्छ, उसबेला हेडसरले तथा लक्ष्मीदाइले हामीलाई तर्साउनु मात्र भएको रहेछ । त्यसबेला घटेको यो घटना मेरो निम्ति उसबेला दुर्घटना भए पनि आखिर अहिले ओखती नै सावित भयो । जसले ममा भर्खरै सुरू हुन लागेको सुर्ती खाने कुलतलाई चटक्कै छुटाइदियो । उसबेला हेडसरको खप्की नखाएको भए सायद म यतिबेला पनि चुरोट खाइरहेकै हुन्थें होला । माइकबाट लक्ष्मीदाइले त्यसरी डर नदेखाएको भए यतिबेला चुरोट खाँदा लाग्ने रोगले सायद मलाई पनि च्यापिसकेको हुन्थ्यो होला । वास्तवमा, ‘ओखती र अर्ति तीतो हुन्छ’ भनेको ठीकै रहेछ ।
एक जनस्वास्थ्यकर्मीको हैसियतले म धुम्रपानबारे लेखरचना पत्रपत्रिकामा छपाएर जनचेतना फैलाउने कोशिस गर्दछु । कहिलेकाहीँ विद्यालयमा गएर ‘धुम्रपान गर्नु हुँदैन, अर्थात् सुर्ती खान हुँदैन है भाइबैनी हो !’ भनेर धुम्रपानबारे विद्यार्थी भाइबैनीलाई सम्झाउने पनि गर्दछु । मलाई कसैकसैले भन्छन् ‘फलाना डाक्टर आफैं चुरोट खान्छ तर अरूलाई नखाऊ भन्छ, नखाने चीज भए डाक्टरले चैं किन खान्छन् त !’ उसलाई चित्त बुझाउने जवाफ मसँग छैन ।
आजकल स्वास्थ्यचेतनामूलक लेख लेखिरहेको बेला अर्थात् विद्यार्थी भाइबैनीहरूसँग कुराकानी गरिरहेको बेला म समक्ष त्यही सवाल घुम्छ र मेरा अतीतको सम्झना एकसाथ आउँछ । धन्य ! म आफू सुर्ती नखाने भएँ र मात्र ! नत्र मलाई पनि विद्यार्थी भाइबैनीले ‘तपाई चै किन खानु हुन्छ त !’ भनेर सोधेमा मसँग जवाफ हुने थिएन । यसबेला म मेरो बाल्यकालको साथी, गुरू, अभिभावकलाई धन्यवाद दिन्छु । तर बाल्यकाललाई खोतल्दा चाहिं मलाई त्यो सुर्तीको स्वाद अर्थात् त्यो घटनाले गिज्याएजस्तो लाग्छ र कताकता आफैलाई मनभित्र कुरिकुरी पनि लागेर आउँछ ।