Critique


डा. नवराज सुब्बाको व्यक्तित्व तथा कृतीत्व उपर गरिएको शोध, समालोचना तथा समीक्षा (Conclusion)

——————————————————————————————-

१. कृति : अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर
लेखक : डा. कृष्णप्रसाद दाहाल
विधा : समालोचना
प्रथम संस्करण : २०६७
प्रकाशकः http://www.nrsubba.com.np

‘बीच बोटोमा ब्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन
कवि नवराज सुब्बाको ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृति स्वच्छन्दतावादी, प्रगतिवादी र मानवतावादी विषयको त्रिवेणी हो । कविले यसमा स्वच्छन्दतावादी भावधाराबाट आपूmले प्रत्यक्ष देखेका र भोगेका विषयलाई सजाएका छन् । राष्ट्र, राष्ट्रियता र देशभक्तिको भावनाले यो कृति उचालिएको छ । आफू जन्मेको गाउँको मात्रै होइन आफूलाई जन्म दिने ममतामयी माताप्रति कवि छताछुल्ल भएर पोखिएका छन् । आफ्ना भाइप्रति, ससुराप्रति मात्रै होइन सतार र राउटेप्रति पनि कवि सुब्बा त्यतिकै मानवीय भावले प्रस्तुत भएका छन् । प्रेम, माया र करुणाका विषयलाई पनि यहाँ सजाइएको छ । नारी संवेदनाका विषयहरूमा कवि बढी द्रवीभूत भएका छन् । नारी हक, हित र स्वतन्त्रताका निम्ति उनले बुलन्द आवाज उरालेका छन् । मातृशक्तिका रूपमा नारीलाई स्वीकारेर उनीहरूको सम्मान गर्नुपर्ने धारणा राखिएको छ ।
चार हरफका मुक्तकीय शैलीका कवितादेखि लिएर उनासीओटा हरफसम्मका कविताले यहाँ स्थान पाएका छन् । मूलतः २०६२÷२०६३ को जनआन्दोलपछि लेखिएका कविताहरू भएका हुनाले कविले लोकतान्त्रिक मूल्य र मान्यताका कुराका साथै नयाँ नेपालको सुखद कामना गरेका छन् । आपसी कलह, द्वेष र द्वन्द्वलाई निमिट्यान्न पारेर शान्तिलाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने आग्रह गरेका छन् । स्वार्थी, नीचता र पछौटेपनको कविले सबैतिर विरोध जनाएका छन् । अग्रगमनको बाटो समाएर ‘सर्वजन हिताय’ र ‘सर्वजन सुखाय’ को चाहना प्रस्तुत गर्दै आध्यात्मिक चेतनातर्पm कविले आपूmलाई झुकाएका छन् । गाई र माईलाई समकक्षी राखेर वात्सल्यको महिमा गाएका छन् । यो यस कविताको विशिष्ट पक्ष हो । बालअधिकारको सम्मानतर्पm पनि कविको काव्यिकचेतना मौलाएको छ । राष्ट्र, राष्ट्रियता र मानव हक, हित विरुद्धका जति पनि गाली–सरापहरू छन् तिनीहरूलाई बीच बाटोमा ब्यूँझेर बगाऔं भन्ने सन्देश दिनु नै यस कवितासङ्ग्रहको विशेषता हो । यही विशेषताले यस कृतिले उच्चता प्राप्त गरेको छ ।
कवि नवराज सुब्बाको ‘बीच बाटोमा व्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन प्रा. बालकृष्ण पोखरेलले यसरी गरेका छन् ः “कवि सुब्बाका अर्थवह, प्रतीकवह र भावोद्वेलक कृतिहरू आजको अस्मिताबोधक उमेरगत, इलाकागत, वर्गगत, धर्मगत, स्तरगत एवम् लिङ्गगत बहीखाताका आकर्षण नमूना बनेका छन् ।” वर्तमानलाई कवि सुब्बाले जस्ताको तस्तै काव्यात्मक बान्कीद्वारा प्रस्तुत गरेका छन् । प्रतीक र बिम्बविधानको सही किसिमले आयोजना गरिएको हुनाले कृति उत्कृष्ट बन्न पुगेको छ । मूलतः देशभित्रको विविध विषयलाई कविले यहा“ पस्किएका छन् : “वि.स. २०६३ सालमा रचना गरिएका कविताहरूको प्रस्तुत सङ्गालो, बीच बाटोमा ब्यूँझेर तपाईको हातमा छ । यसभित्रका कविताहरू झापा, मोरङ, काठमाडौं, नदी लुक्ने सहर पोखरा, बुद्ध जन्मेहुर्केका जिल्ला रूपन्देही, कपिलवस्तु अर्थात् नेपालभित्रै रहेर बसेर लेखिएका हुन् र मेरा सिर्जनाहरू आजको समयले अनुभव गरेका आºनो देशभित्रैका विषयवस्तुमा केन्द्रित छन् ।” देशको अभिलेख हो ‘बीच बाटोमा ब्यू“झेर’ ।नेपाली भूगोल र नेपाली जातिलाई यहाँ चिनाइएको छ । देशले ऐतिहासिक मोड लिएको समय त्रिसट्ठी सालले नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न तुल्यायो । यसैलाई कविले यस सङ्ग्रहको भूगोल बनाएका छन् । नेपाल देश र नेपाली जातिप्रति कविले यहाँ औधी माया प्रकट गरेका छन् । नवराजका कविताहरूको मूल्याङ्कन गर्दै डा. गोविन्दराज भट्टराईले आफ्ना अभिमत यसरी राखेका छन् ः “नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका, दुःखी, कुष्ठरोगी, अपहेलित र निन्दितका आवाज हुन् , सहअस्तित्वबोधका कविता ।” सतारको सम्बोधन, राउटेको मन, अगेनामा, कुष्ठरोगी † बस मेरो कवितामा कविले नेपाली जनताको यथार्थलाई सम्बोधन गरेका छन् । पिछडिएका असहाय, दीन, हीन नेपालीको पीडालाई सहज र सरल ढङ्गले लिपिबद्ध गरिएको छ । यिनै विशेषताका उचाइबाट नवराजका कविताहरू उचालिएका छन् । मानवीय मनोविज्ञानलाई उनी राम्ररी समाएर कविता लेख्न सक्छन् । यसको उदाहरणको रूपमा ‘अर्थहीन पीडा र खुसीहरू’ कवितालाई लिन सकिन्छ । आपूm समाजशास्त्र, मानवशास्त्र र जनस्वास्थ्यको विद्यार्थी हुनुको नाताले समेत कविले त्यससम्बन्धी विषयहरूलाई कवितामा सतर्कताका साथ सजाएका छन् । यस सम्बन्धमा उनी भन्छन् ः “समाजशास्त्र र जनस्वास्थ जुन मेरो कर्मक्षेत्र हो, यसमा विद्यमान समसामयिक प्रश्नहरूलाई पनि साहित्यमा प्रविष्ट गराएको छु । साहित्यलाई सबैको सरोकारको विषय बनाउने प्रयत्न गरेको छु ।” नवराज कविता कोरा कल्पनाका उपज होइनन् । यथार्थका काजु, किसमिस मसला हुन् । उनी अनावश्यक कल्पनाको पछि नदौडिकन यथार्थमा देखेका र भोगेका विषयलाई काव्यात्मक लालिमाद्वारा प्रस्तुत गर्दछन् । शान्त, सरल र गम्भीर किसिमबाट कुनै पनि विकृति र विसङ्गतिको भण्डाफोर गर्न सिपालु छन् । यसलाई पनि उनको काव्यिक लेखनको महत्वपूर्ण पाटो मान्नु पर्दछ ।

निष्कर्ष
‘जीवन मेरो शब्दकोशमा’ (२०६३) कविता सङ्ग्रहबाट चर्चाको शृङ्खलामा देखापरेका कवि नवराज सुब्बा नेपालीका राम्रा आशालाग्दा प्रतिभा हुन् । उनले कविहरूको भीडमा एउटा छुट्टै पहिचान बनाइसकेका छन् । अग्रपुस्ता र आफ्ना पुस्ताका लेखनबाट प्रभाव ग्रहण गर्दै नौलो काव्यिक मात्रा तय गरिसकेका छन् । यसको जल्दोबल्दो प्रस्तुति नै ‘बीच बाटोमा ब्यूँझेर’ हो । ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृतिसम्ममा आइपुग्दा नै उनले निकै नै प्रौढता र परिपक्कता हासिल गरेको अनुभूति हुन्छ । विषयको विविधताका साथसाथै शैलीको नवीनता यहाँ प्राप्त गर्न सकिन्छ । वास्तवमा भन्ने हो भने यो कृति उनकै जीवनभोगाइको ऐना हो । घर, समाज र राष्ट्रका प्रति उनले जे–जे कार्यहरू गर्दै गए ती–ती कुरालाई अनुभवका आधारमा संयोजन गरेका छन् । जस्तो अनुभव गरे वा देखे, त्यसैलाई मात्रै उनले स्थान दिएका छन् । अपत्यारिला वा सस्तो लोकप्रियताको पछि नलागीकन यथार्थको पोयो बाट्न उनी मन पराउ“छन् । कवि सुब्बा सहरलाई भन्दा गाउ“लाई मन पराउँछन् । गाउँको प्राकृतिक सुन्दरताले उनलाई धेरै नै आकर्षिक पारेका छ ।
कवि नवराज सुब्बाले ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रहभित्र विषयवस्तुअनुसारको भाषा–शैलीको प्रयोग गरेका छन् । ग्रामीण परिवेशका कुरा गर्दा त्यहाँकै स्थानीय शब्दलाई ग्रहण गर्दछन् भने सहरी सभ्यताको विषयलाई प्रस्ट्याउँदा भने सो अनुसारकै पारिभाषिक प्राविधिक शब्दहरूको उचित प्रयोग गर्दछन् । कवितामा विषयवस्तु पस्किएर मात्रै हुँदैन त्यसलाई नयाँ–नयाँ बिम्ब र प्रतीकका माध्यमबाट व्यक्त्याउनु पर्दछ । यो कार्य कवि नवराजले गरेका छन् । कविले महाभारतीय बिम्बदेखि लिएर अहिलेको अत्याधुनिक जीवनजगत्का बिम्ब र प्रतीकहरू उधिनेका छन् । उनी सबै किसिमका बिम्ब र प्रतीकहरूको आयोजना गर्न सफल भएका छन् । कसैले देख्न र समाउन नसकेका विम्व र प्रतीकहरू उनले यहाँ सजाएका छन् । मातृवात्सल्यका कुरादेखि लिएर होस् वा गाली सराप बगाउने कुरामा होस् उनले सामान्यजस्ता लाग्ने बिम्बलाई पनि सशक्त गराएका छन् । आलङ्कारिकता र सङ्गीतात्मकताले कवितालाई सुष्टुचुम्मित गराउँछन् । वृत्यानुप्रास, अन्त्यानुप्रास अलङ्कारको प्रयोग गरेर कविले यस सङ्ग्रहभित्रका कविताहरूलाई बढीभन्दा बढी लयदार गराएका छन् । तत्सम, तद्भव र मौलिक शब्दहरूको मात्रै होइन आगन्तुक शब्दहरूको संयोजन गर्न कन्जुस्याँई गरेका छैनन् । सबैभन्दा ठूलो विशेषता यो सङ्ग्रहको कुन हो भनेर भन्नुपर्दा त्यो हो सरलता । कविले सकेसम्म सरल शब्दका माध्यमबाट गहन विषयहरूको आयोजना गरेका छन् । नबुझिने र पट्यार लाग्ने शब्द यहाँ कतै पनि छैनन् । सरल वाक्यगठनद्वारा कवितात्मक हरफहरू निर्मित छन् । निपात र उखान टुक्काका प्रयोगले सुनमा सुगन्ध थपेका छन् । यिनै कुराहरूको समष्टि रूपनै ‘बीच बाटोमा ब्यूँझेर’ हो ।
Book download

२. कृति : ‘बीच बाटोमा ब्यूँझेर’ काव्यको अध्ययन
लेखक : इन्द्रावती सुब्बा
विधा : अनुसन्धान
प्रकाशन : २०६८
प्रकाशकः वाणी प्रकाशन, विराटनगर
शोधनिर्देशकः डा. कृष्णप्रसाद दाहाल, सहप्राध्यापक

संयोजक, प्रा.डा. जगदीशचन्द्र भण्डारी, नेपाली स्नातकोत्तर कार्यक्रम, नेपाली स्नातकोत्तर कार्यक्रम, पाटन संयुक्त क्याम्पस, विशेषज्ञ सहप्राध्यापक सुरेन्द्रवरसिंह थापा, विभागीय प्रमुख, नेपाली शिक्षण समिति, पाटन संयुक्त क्याम्पस, बाह्य परीक्षकः श्री परशु प्रधान, पाटनढोका, ललितपुर

उपसंहार एवम् निष्कर्ष

कवि नवराज सुब्बाको जन्म वि.सं. २०१८ साल असोज १६ गते पिता आइतराज सुब्बा र माता नरमायाका ज्येष्ठ सुपुत्रका रूपमा ताप्लेजुङ जिल्लाको हाङपाङमा भएको हो । उनको पारिवारिक पृष्ठभूमि मध्यमवर्गीय देखिन्छ । उनको पुर्खाहरू ताप्लेजुङको मेवाखोला सावाबाट हाङपाङमा बसाइँ सरेको थाहा हुन आउँछ । तुमयाङ फेयङहाङ साम्बादेखि आइतराजसम्म उनको वंशावली लम्बिएको छ । पिता आइतराजका तीनवटी श्रीमतीहरूमध्ये जेठीपट्टिका जेठो छोरो नवराज सुब्बा हुन् । नवराज सुब्बाको बाल्यकाल पारिवारिक माह्वलमा नै हुर्किएको पाइन्छ । नवराज सुब्बाले आफ्नो औपचारिक शिक्षारम्भ सरस्वती मा.वि. बाट गरेका हुन् । सोही विद्यालयबाट वि.सं. २०३३ सालमा एस.एल.सी. परीक्षा उत्तीर्ण गरी जनस्वास्थ्य विषयमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जबाट एम. पी. एच. र त्रि.वि. बाटै नेपाली विषयमा एम. ए. सम्मको अध्ययन पूरा गरेको देखिन्छ । उनले वि.सं. २०३७ बाट स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरूमा इन्चार्जको हैसियतले कार्य गर्दै आफ्नो पेसागत जीवनका थालनी गरेका हुन् । वि.सं. २०५१ बाट जनस्वास्थ्य अधिकृत तथा वरिष्ठ जनस्वस्थ्य अधिकृतको जिम्मेवारी सम्हाल्दै हाल वरिष्ठ जनस्वास्थ्य प्रशासकका रूपमा झापा र मोरङमा कार्यरत देखिन्छन् । मध्यमवर्गीय आर्थिक हैसियत राख्ने सुब्बा विभिन्न साहित्यिक तथा गैरसाहित्यिक सङ्घसंस्थामा पनि आबद्ध भएको पाइन्छ । यिनी गायन, वाद्यवादन, खेलकुद, समाजसेवा, जनस्वास्थ्य आदि साहित्यिक तथा गैरसाहित्यिक विधा तथा क्षेत्रप्रति यिनको रुचि रहेको पाइन्छ । वि.सं. २०६१ सालमा आफ्नो भाइ दीपकराज सुब्बाको आत्महत्या प्रकरण यिनको जीनवको सबैभन्दा दुखद् अविस्मरणीय घटना भएको यिनी बताउँदछन् । विभिन्न मान, सम्मान तथा पुरस्कारबाट पनि यिनी विभूषित देखिन्छन् । यिनले भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया, बङ्गलादेश आदिको भ्रमण गरेका छन् । मिलनसार, मृदुभाषी र शालीन व्यक्तित्वका धनी सुब्बा मझ्यौला किसिमको शारीरिक बनोट भएका व्यक्ति हुन् । यिनी साहित्यका विभिन्न विधाहरूमा आफ्नो क्षमता प्रस्तुत गर्ने व्यक्ति हुन् । कविता, कथा, निबन्ध, गजल, समीक्षा, गीत आदि विधाहरूमा यिनले कलम चलाएको देखिन्छ । यद्यपि उनको उर्वर साहित्यिक विधा भने कविता र गीत—गजल नै हो । यिनले आफ्नो साहित्यिक यात्रा वि.सं. २०३० को दशकपछि थालेका हुन् । यिनको यो साहित्यिक यात्रालाई वि.सं. २०३० देखि २०६२ सालसम्मलाई प्रथम चरण र २०६३ पछिको अवधिलाई द्वितीय चरण मान्न सकन्छि । उनको साहित्यिक यात्राको प्रथम चरण आभ्यासिक चरण हो । यस अवधिमा उनका काव्यकृतिहरू फुटकर रूपमा प्रकाशित भएका छन् । उनको साहित्यिक यात्राको दोस्रो चरण भने उर्वर चरण हो । यस चरणमा उनको पुस्तकाकार कृतिहरू प्रकाशित भएका छन् । यस क्रममा उनको “जीवन मेरो शब्दकोशमा” (२०६३) र “बीच बाटोमा ब्यूँझेर” (२०६५) गरी दुईवटा कवितासङ्ग्रहहरू प्रकाशित भएका छन् । यस अवधिमा “मनको मझेरी” (२०६४), निबन्धसङ्ग्रह “यात्रा आधा शताब्दीको” कवितासङग्रह (२०६८) “सहिदलाई सलाम” गीतिसङ्ग्रह (२०६७) पनि प्रकाशित भएको छ । यस अवधिमा “मनको मझेरी” (२०६४) निबन्धसङग्रह पनि प्रकाशित भएको छ । यसै अवधिमा उनको “लुकेको रहर”, “देशको माया” गीतिएल्बम पनि बजारमा आएको अवस्था छ । यस चरणमा उनी बहुआयमिक साहित्यिक व्यक्तित्वका रूपमा चिनिएका छन् । यी बहुआयमिक साहित्यिक व्यक्तित्वहरूमध्ये उनी कवि व्यक्तित्व र गीतकार व्यक्तित्वका रूपमा स्थापित छन् ।
नेपाली साहित्यको विकास क्रममा समसामयिक धारामा देखिने कवि नवराज सुब्बा स्वच्छन्दतावादी प्रगतिवादी चेत भएका गद्य कवि हुन् । यिनका कविताले समसामयिक, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, भौगोलिक पर्यावरणीय घटनाक्रम तथा वस्तुस्थितिको प्रतिनिधित्व गर्दछ । सामाजिक, आर्थिक र सांस्कृतिक विसङ्गतिमाथि व्यङ्ग्य गर्दै सुधारका अपेक्षाहरू यिनका काव्यकृतिहरूमा संस्थापना गरिएका छन् । उनका कविताहरूमा प्राकृतिक परिदृश्यका छटाहरू गुञ्जायमान छन् । राष्ट्रियताका विषयवस्तुहरू पनि यिनका कविताहरूमा उठाइएका छन् । स्थानीयताको छाप यिनका कविताहरूमा देखिन्छ । आगन्तुक, तद्भव, तत्सम शब्दहरूको प्रयोग नियका कविताहरूमा भएका छन् । मझ्यौला आयामका कविताहरू रच्ने सुब्बाका कविताहरूमा प्राकृतिक, सांस्कृतिक, पौराणिक ऐतिहासिक आदि बिम्बहरूको प्रयोग पाइन्छ । ती बिम्ब प्रतीकहरूले अभिधात्मक लाक्षणिक र व्यञ्जनात्मक अर्थसापेक्ष दिएका छन् । सुबोध्य र सरल भाषिक प्रयोग भए पनि अन्त्यानुप्रासको प्रयोग विशृङ्खलित देखिन्छ । उनी मध्यमस्तरका कविका रूपमा स्थापित छन् । कविताका अतिरिक्त यिनी गीतकार गजलकार र निबन्धकारका रूपमा पनि चर्चित रहेको देखिन्छ ।
यिनको वि.सं. २०६५ सालमा प्रकाशित भएको “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहमा ७७ वटा कविताहरू समावेश छन् । ती कविताहरू सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक, आध्यात्मिक, वैज्ञानिक, प्राकृतिक विषयवस्तुमा आधारित छन् । यसका साथै शृङ्गारिक विषयवस्तुका कविताहरू पनि समाविष्ट छन् । यिनले जनयुद्धको १० वर्षे अवधिको चित्रण यी कविताहरूमा गरेका छन् । कवितासङग्रहको शीर्ष कविता “बीच बाटोमा ब्यूँझेर” ले एकातिर सम्पूर्ण कविताहरूको नेतृत्व गरेको छ भने उक्त शीर्षकले देशको वर्तमान अवस्थामा उभिएर भूत र भविष्यलाई नियाल्ने प्रतीकात्मक अर्थ वहन गरेको पाइन्छ । उक्त शीर्षक कविताले जीवन दर्शनको प्रस्तुति गर्दै राजनीतिक विषयवस्तु मानवनियति र सङ्घर्षमय परिस्थितिको आँकलन गरेको पाइन्छ । त्यस्तो सङ्ग्रहभित्र समाविष्ट २०६३ को आयतन “क्रान्तिको मोल” “मुकुन्डो आतङ्क” आदि कविताहरूले जनयुद्धकालीन भयत्रास, उन्माद, आपराधिक घटनाहरूको शृङ्खला, विस्थापनको अवस्था आदिको चित्रण गरेका छन् । नारीहरूको अवस्थितिको चर्चा गर्दै “सतीढुङ्गानेर अरूण ” कविताको रचना कवि सुब्बाले गरेका छन् । यसमा आदिकालदेखि नारीको पीडामय अवस्था र सतीप्रथाको चित्रण गरेका छन् । उनको शृङ्गारिक भाव धारामा आबद्व “चीरप्रतिक्षित यौवन” कविताले सभ्ययुगकालीन यौन व्यापारको चर्चा गर्दै लोकतान्त्रिक तथा गणतान्त्रिक उन्मादको चित्रण गरेको छ । नारीहरूको पीर, व्यथा, कुण्ठा, मातृत्व समस्या आदिलाई चित्रण गर्दै “कठघरामा उभिएर” “आमाको तिर्सना”, “बूढीकन्याको गन्थन” आदि कविताहरू रचिएका छन् । उनको ‘हाकिम कविताले भ्रष्ट सहकर्मी कर्मचारीहरूको चेपमा परेको एउटा अधिकृतको वा हाकिमको मानसिक तनावलाई प्रस्तुत गरिएको छ ।
सीमान्तकृत समुदाय तथा निम्नवर्गीय मानिसहरूको समस्या, पीडा, उनीहरूले खेप्ने दमन आदिलाई विषयवस्तु बनाएर ‘सतारको सम्बोधन’ ‘राउटेको मन’, ‘कम्लहरी’, गर्धा मन्जुर’ ‘जालहारी र माछा’ आदि कविताहरू रचिएका छन् । प्रकृतिलाई विषयवस्तु बनाएर ‘दूबो’, मौसम’ ‘झुसिलकीरा, ढुङ्गा हुनुको पीर, ‘बिहानीसित’, ‘आकाशको सुगन्ध खोज्दा’ आदि कविताहरू रचिएका छन् । यी समाविष्ट कविताहरूले विविध विषयवस्तुहरूको प्रतिनिधित्व गरेको छ । यहाँ प्रशस्त बिम्ब तथा प्रतीकहरूको प्रयोग भएको छ । सुबोध्य र सरल भाषाशैलीमा प्रयोग भएका छन् । प्रथम पुरुषीय र तृतीय पुरुषीय कथनपद्धतिको प्रयोग पाइन्छ । आयामगत दृष्टिले हेर्दा केही छोटा र धेरेै मझ्यौला आयाम भएका कविताहरू सङग्रहमा सङ्गृहीत छन् । यो कवितासङ्ग्रह समसामयिक नेपाली कविता धारामा देखा परेका समकालीन काव्यकृतिहरूसँग प्रतिस्पर्धा गर्न लायकको देखिन्छ । कवि नवराज सुब्बालाई सफल कवि बनाउन यो कवितासङ्ग्रह सहायक भएको छ ।

निष्कर्ष
वि.सं. २०१८ सालमा ताप्लेजुङमा जन्मिएका र एम.पि.एच. सम्म अध्ययन गर्दै वरिष्ठ स्वास्थ्य अधिकृतसम्म हुन पुगेका नवराज सुब्बा बहुआयामिक व्यक्तित्व हुन् । एक स्वास्थ्यकर्मीका अतिरिक्त कवि, गीतकार, निबन्धकार, गजलकार व्यक्तित्व हुन् । यिनी कविता र गीत विधामा बढी सक्रिय रहेको देखिन्छ । वि.सं २०३० बाट साहित्यिक यात्रा तय गरेका सुब्वाको साहित्यिक यात्रालाई वि.सं. २०३० देखि २०६२ सम्म पहिलो चरण र २०६३ पछिको अवधिलाई दोस्रो चरण मान्न सकिन्छ । यस चरणमा यिनले दुईवटा कविता सङ्ग्रहहरू प्रकाशित गरेका छन् भने एउटा निबन्धसङ्ग्रह पनि प्रकाशित छ । यिनको पछिल्लो कवितासङ्ग्रह “बीच बाटोमा ब्यूँझेर” मा ७७ वटा कविताहरू सङ्गृहीत छन् । ती कवितासङ्ग्रहका कविताहरूले वि.सं. २०४६ साल पछिको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक पर्यावरणको प्रतिनिधित्व गर्दछ ।
विषयवस्तुका दृष्टिकोणले शृङ्गारिक, प्राकृतिक, राजनैतिक, राष्ट्रियता, जीवनदर्शन, स्थानीय वस्तुस्थिति आदिलाई लिइएको छ । ती कविताहरूमा विभिन्न बिम्ब प्रतीकहरूको माध्यमबाट व्यङ्ग्य प्रहार भएको पाइन्छ । छोटा र मझ्यौला खालका कविताहरू सङ्ग्रहमा सङ्गृहीत छन् । कवि सुब्बाको कवितात्मक सामथ्र्यलाई उचाल्न विवेच्य कवितासङ्ग्रह सफल भएको देखिन्छ । यो नै प्रस्तुत शोधको निष्कर्ष हो ।
यस शोधपत्रले कवि नवराज सुब्बाको जीवनी, व्यक्तित्वको अध्ययनको परिधिमा उनको पछिल्लो कवितासङ्ग्रह “बीच बाटोमा ब्यूँझेर’ को अध्ययन गरेको छ । भविष्यमा कवि नवराज सुब्बाका बारेमा शोध तथा अनुसन्धान गर्न चाहने व्यक्तिहरूले निम्न शोधशीर्षकअन्तर्गत अनुसन्धान गर्न सक्नेछन् :
१. कवि नवराज सुब्बाको साहित्यिक प्रवृत्तिको अध्ययन
२. कवि नवराज सुब्बाको, ‘जीवन मेरो शब्दकोशमा’ काव्यकृतिको अध्ययन
३. नवराज सुब्बाको यात्रा आधा शताब्दीको कवितासङग्रहको अध्ययन
४. गीतकार नवराज सुब्बाको गीतहरूको अध्ययन ।
Book download

३. कृति : नवराज सुब्बाको ‘मनको मझेरी’ कृतीको अध्ययन
लेखक : गीता ढकाल
विधा : अनुसन्धान
प्रकाशन : २०६८
प्रकाशकः
१) शोध निर्देशक : डा. खेमनाथ दाहाल, सह–प्राध्यापक २) विभागीय प्रमुखः प्रा.डा. टङ्कप्रसाद न्यौपाने ३) प्रा.डा. गोपाल भण्डारी, ४) डा.भोलानाथ पोख्रेल, ५) चन्द्रमणि अधिकारी, उप–प्राध्यापक
६) दीपक न्यौपाने, ७) गोपीकृष्ण खतिवडा, ८) सुभाष न्यौपाने, ९) दीपक पराजुली ।

सुब्बाका प्रकाशित निबन्धहरूको समीक्षा र निष्कर्ष

निबन्धकार नवराज सुब्बाको ‘मनको मझेरी’ निबन्धसङ्ग्रह २०६४ सालमा प्रकाशित भएको देखिन्छ । यस सङ्ग्रहमा जम्मा बीसवटा निबन्ध सङ्गृहीत छन् जसमा सबै निबन्ध एकै प्रकारका रचना मानिएका छन् । प्रस्तुत सङ्ग्रहका सम्पूर्ण पाठलाई शोधमा ग्रहण गरिएको छ ।
शोधनायकको प्रथम निबन्ध ‘नयाँ नेपालको चित्र’ भन्ने पाठ हो । प्रस्तुत निबन्धमा विराटनगर जेसिजले आयोजना गरेको कार्यक्रमलाई केन्द्रबिन्दु बनाई नयाँ नेपालको चित्रण गरिएको छ । निबन्धमा अपाङ्ग बालबालिकाहरूलाई विभिन्न संघ संस्थाले प्रोत्साहित गरी आफ्नो कला प्रदर्शन गर्न लगाउने र उनीहरूको आन्तरिक क्षमतालाई सार्वजनिक गर्न लगाउने बाल, वृद्ध, उद्योगी व्यवसायीहरूले शुभकामना दिने तर पनि अपाङ्गहरूको समस्याचाहिँ ज्यूँका त्यूँ रहने कुराप्रति निबन्धमा असन्तोष व्यक्त गरिएको छ । यस निबन्धमा निबन्धकार सुब्बाले नवीन नेपालको परिकल्पना र अपाङ्गको शान्तिप्रति ऐक्यबद्धता रहेको देखाएका छन् । तिनको चाहना अनुरूपको सुन्दर राज्य नै नयाँ नेपाल हो भन्ने विचार पनि निबन्धमा व्यक्त गरेका छन् । अशक्त अपाङ्गहरूले पनि स्वाभिमानका साथ बाँच्न पाउनुपर्छ र उनीहरूलाई माया र स्नेहभन्दा पनि अधिकार दिनुपर्छ भन्ने सुब्बाको दृष्टिकोण यस निबन्धमा व्यक्त भएको छ । यस निबन्धको शैली वस्तुपरक छ भने शिल्प वा ढाँचालाई वर्णनात्मक नियात्रामूलक मान्न सकिन्छ । यस निबन्धमा समृद्धशाली मान्छेहरू भन्दा यी विकलाङ्ग केटाकेटीहरू राष्ट्रप्रति चिन्तित भएको कुरा यिनका चित्रकलाले देखाएका छन् । यो निबन्ध तीन पृष्ठसम्म विस्तारित छ ।

दोस्रो निबन्धका रूपमा ‘तस्बिरमा पोखिएका कविताहरू’ शीर्षक रहेको देखिन्छ । निबन्धमा तस्बिरलाई केन्द्रबिन्दु बनाएर तस्बिर पनि साहित्य हो, तस्बिरले जीवनजगतको चित्रण गर्दछ भन्ने कुरालाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । निबन्धमा स्वयम् निबन्धकार भन्छन् ‘‘‘तस्बिर एउटा कविताजस्तै मीठो र महाकाव्यजस्तै गहन हुन सक्छ ।’ जति हेरे पनि हेरिरहूँ लाग्ने पर्खालमा टाँसे पनि कसैलाई नबिझाउने र आकर्षक हुन्छ । निबन्धमा सुब्बाले काठमाडौँको आर्ट ग्यालरीमा ‘लडाइँमा जनता’ नामक फोटो प्रदर्शनी हेरेको कुरालाई केन्द्रबिन्दुमा राखेर दशबर्से जनयुद्धमा मारिएका बालक, युवा, वृद्धहरूको तस्बिर नै उनको निबन्धको विषय बनेको पाइएको छ । यस निबन्धको शैली वस्तुपरक छ भने शिल्प वा ढाँचालाई वर्णनात्मक वा विवरणप्रधान मान्न सकिन्छ साथै विचारतत्व राम्रो मान्न सकिन्छ । यो निबन्ध चार पृष्ठसम्म विस्तारित भएको देखिन्छ । यी दुवै निबन्धहरू प्रदर्शनीसँग आबद्ध छन् र यिनका विषय चित्रकलासँग जोडिएका छन् । यिनमा फरक देखिने विषय भने निबन्धकारको स्थान हो, तिनमा पहिलो निबन्धभित्र उनी प्रमुख अतिथि छन् र दोस्रो निबन्धमा उनी दर्शक मात्रै हुन् ।
शोधनायकको तेस्रो निबन्धको रूपमा ‘श्रद्धाञ्जली एउटा लिम्बूनीलाई’ रहेको छ । प्रस्तुत निबन्ध संस्मरणात्मक निबन्ध हो । यो निबन्ध सामाजिक विषय र गाउँले परिवेशलाई आधार बनाएर लेखिएको छोटो निबन्ध हो । निबन्धमा निबन्धकारले आफू सानो छँदा गाउँमा पढ्दाको स्कुल नजिक तलतिर रहेकी एउटी एक्ली अर्धबैंसे लिम्बूनीलाई विषयवस्तु बनाएका छन् । ती लिम्बूनी कठोर र निर्दयी छिन् । विद्यालयमा गोल खेल्दा उनको जग्गामा पुग्दा बाली बिगारिदिँदा त्यही आक्रोशमा कतिवटा भकुन्डाहरू फुटाइदिएकी छिन् । निबन्धकार सानो छँदा आमासित त्यहाँ जाने गरेको र उनका घरमा अनेकौं फलफूल पाइने गरेको तथा यिनले बनाएर उनले दिने गरेको, कहिले सब्जी फलफूल घरमै पठाइदिने स्वभाव भएकी ती साहिँलीबोजू २०३७ सालमा निबन्धकार हाङपाङ हेल्थपोष्टमा इन्चार्ज भएर जाँदा निकै बूढी भइसकेकी थिइन् । उनी बिरामी भएर हेल्थपोष्ट आउँदा निबन्धकारले जाँच गरी औषधी दिएको र केही वर्षपछि बढो कष्टपूर्ण ढङ्गले मृत्यु भएको कुरा निबन्धमा उल्लेख हुन आएको छ । यो निबन्ध चार पृष्ठसम्म फैलिएको छ । यसको विचारतत्व आफ्नो जन्मस्थानलाई प्रेम गर्नुपर्छ सँग जोडिएको छ । यो निबन्धको शैली संस्मरणप्रधान छ भने शिल्पलई उन्नत तहको मान्न सकिन्छ ।
शोधनायकको चौथो निबन्धको रूपमा ‘आमाका रूपहरू’ रहेको देखिन्छ । गाउँले नारी जीवनलाई विषय बनाई लेखिएको छोटो आयामको निबन्ध हो । यस निबन्धमा एउटी पीडित भरिया भोटेनीले पिठ्यूँमा भारी बोक्दै बजार गइरहेको र बालकले पछ्याउँदै गरेको अवस्थालाई विषयवस्तु बनाइएको छ । ती भोटेनी महिलाको सहनशीलताको प्रशंसा पनि गरिएको छ । आमाहरू सहनशील हुँदारहेछन् भनिएको छ । म पनि बच्चामा त्यस्तै थिएँ होला भन्दै निबन्धकारले धारामा पानी लिन जाँदा गाग्रीसँग आफूलाई पनि आमाले बोक्दा आफू पनि निर्दयी भएको स्मृति निबन्धमा प्रस्तुत गरेका छन् । आफ्नी आमाले गरेको मायाको सम्झना गर्दै निबन्धकारले स्वभावैले महिलाको ह्ृदय अति नै दयालु र कोमल हुने कुरा निबन्धमा उल्लेख गरेका छन् । यो निबन्ध दुई पृष्ठसम्मात्र फैलिएको छ । यस निबन्धको विचारतत्व सबल मान्न सकिन्छ । यसको शैली आत्मपरक छ भने शिल्प वा ढाँचालाई लेखकको स्मरणमा आएका घटना प्रसङ्गले गर्दा वर्णनात्मक तथा घटनाप्रधान मान्न सकिन्छ । मिल्ने विषयभित्र दुवै निबन्धमा निबन्धका केन्द्रीय वस्तु नारीहरू रहेका छन् र यिनमा पाइने भिन्नता भनेको अविवाहित महिलाको कडा स्वभाव र विवाहित आमाको शान्त स्वभावको चित्रणलाई लिन सकिन्छ ।
नवराज सुब्बाको अर्को निबन्ध ‘तरकारी बेच्ने महिला’ रहेको छ । संस्मरणात्मक ढाँचा वा शैलीमा लेखिएको यो निबन्धमा तरकारी बेचेर जीवन निर्वाह गर्ने महिलाको जीवनचर्यालाई विषयवस्तु बनाइएको छ । तरकारी हाम्रो दैनिक खानामा प्रयोग हुने पौष्टिक खाद्य हो । यो हाम्रो लागि अति आवश्यक छ तैपनि मानिसहरू दलाली गर्छन् । सानो पेशा गरेर घरघरमा तरकारी डुलाउँदै ल्याउने महिलामाथि हामीले दया राख्नुपर्छ भने विचार यस पाठमा पोखिएको छ जसले गर्दा विचारतत्व राम्रो मान्न सकिन्छ । निबन्धकारले विराटनगरका गल्लीमा तरकारी डुलाउँदै बेच्न हिँडिरहेकी महिलासँग आफ्नी श्रीमतीले सुरुसुरुमा दलाली गरेको र पछि ‘बाल समाज नेपाल’ नामक तरकारी व्यवसायीहरूको ‘आत्मकथा’को पुस्तक पढेपछि एक्कासि परिवर्तन आएको कुरा स्मरण गरिएको छ । यस निबन्धमा लेखकले तरकारी बेच्ने महिलाले घरघरमा डुलाउँदै यात्रा गरेको बेला भोगेका कुराहरू संस्मरणात्मक शैलीमा प्रस्तुत गरेका छन् । यो निबन्ध दुई पृष्ठसम्म विस्तारित छ । यो निबन्ध प्रथमपुरुष शैलीमा देखिए पनि विषय अर्काकै प्रधान विषय हो । शोधनायकको अर्को निबन्ध ‘हाक्पारे सङ्गीत’ रहेको छ । यस निबन्धमा निबन्धकारले सामाजिक, सांस्कृतिक परम्परासँग सम्बन्धित विषयलाई लिएका छन् । उनले सङ्गीतको वर्णन गर्दै लेखिएको यो निबन्धमा गीत, सङ्गीत, कला, साहित्य समाजका अमूल्य सम्पत्ति हुन् भनिन्छ । यिनीहरूको जगेर्ना गर्नुपर्छ भन्ने मान्यता अघि सारेका छन् । निबन्धकार पनि गीतसङ्गीतप्रति विशेष रुचि राख्ने व्यक्ति भएको हुनाले विशेषतः लिम्बू समुदायको हाक्पारे सङ्गीतबारे यस निबन्धमा वर्णन गरेका छन् । प्रस्तुत निबन्ध तीन पृष्ठसम्म फैलिएको छ । यसको शैली आत्मपरक छ भने शिल्प वा ढाँचा वर्णनप्रधान मान्न सकिन्छ । यी दुई निबन्धहरू पेशासँग सम्बन्धित छन् र अर्कोचाहिँ गीतसङ्गीतसँग आबद्ध छ ।
लेखकको अर्को निबन्ध ‘गीतसङ्गीतभित्र देश र जीवन खोज्दै’ रहेको देखिन्छ । प्रस्तुत निबन्ध वर्णनात्मक शैलीमा लेखिएको छ । सामाजिक विषयवस्तुमा आधारित प्रस्तुत निबन्धमा पनि निबन्धकार सुब्बाले सङ्गीतकै चर्चा गरेका छन् । जीवनलाई आनन्द दिने एउटा वस्तु सङ्गीत भएको चर्चा गर्दै उनले कला, साहित्य, सङ्गीत, सर्जक र स्रोता दुवैलाई आनन्द दिने वस्तु ठानेका छन् । २०६४ असार २३ गते विराटनगरको विराटकला मन्दिरमा भएको साङ्गीतिक कार्यक्रमको स्मरण गर्दै त्यस कार्यक्रममा प्रस्तुत गीतसङ्गीतले माया प्रीतिका कुरा, सुरा सुन्दरीको बयान र सिद्धान्तका नारा झल्काउने मात्र होइन जीवन र जगत्को उज्ज्वलतातिर सकारात्मक सोच, सद्भाव र समावेशी मान्यताको समृद्धि गराउने काम पनि गरेको कुरामा निबन्धकार विश्वस्त बनेका छन् । शैली स्मरणप्रधान छ भने शिल्प वा ढाँचा वर्णनप्रधान मान्न सकिन्छ । यस निबन्धको विचारतत्व सङ्गीततर्फको झुकाउ हो ।
लेखकको अर्को निबन्ध ‘जन्तरे सरको टक्करी ट्वाक’ रहेको छ । प्रस्तुत निबन्ध संस्मरणात्मक निबन्ध हो । प्रस्तुत निबन्ध सामाजिक विषयवस्तुमा आधारित छ । यस निबन्धमा निबन्धकार सुब्बाले आफ्नो बाल्यकालको स्मरण गर्दै स्कुलमा पढ्दाको कुरालाई विषय बनाएका छन् । स्कुलमा पढ्दा सरले ठूलो भएर धनी हुने कि गरिब भन्दा आफूले चाहिँ गरिब हुने जवाफ दिएको कुरालाई सम्झँदै धनी मानिस खराब हुन्छन्, जाली हुन्छन् भन्दै आफू गरिबको पक्षमा रहेको निबन्धकारले बताएका छन् । सुब्बालाई गरिबको पक्षमा नै उभिएर केही गर्न बोल्न र लेख्नमा आनन्द लाग्ने पनि अनुभव गरेका छन् । सुब्बालाई सरले त्यसबेला हानेको टक्करी अझै पनि सम्झनामा छ, दुई पृष्ठसम्म फैलिएको निबन्धको छोटो आकार देखिन्छ, संस्मरणात्मक शैलीमा प्रस्तुत भएको यो निबन्ध शिल्प वा ढाँचालाई हेर्दा स्मरणमा आएको घटनाप्रसङ्गले वर्णनात्मक मान्न सकिन्छ । अनुकूल पात्रको सम्झना यसको विचारतत्व हो ।
शोधनायकको अर्को निबन्ध ‘ती एकजोडी परेवा’ रहेको छ । प्रस्तुत निबन्ध संस्मरणात्मक शैलीमा लेखिएको छ । धार्मिक, आध्यात्मिक विषयवस्तु समेटिएको यो निबन्धमा निबन्धकार सुब्बाले आफूले जागिर खानेक्रममा खोटाङमा भएका बेला घरमा कान्छो छोरो बिरामी भएपछि सुब्बाकी श्रीमतीले भाकल गरेको कुरा स्मरण गरेका छन् । खासगरी धर्मका नाममा पुजारीहरूबाट गरिएको विकृत व्यवहारको कुरालाई पनि यहाँ देखाउन खोजिएको छ । निबन्धकार दसैँका बेला घर जाँदा परेवा लिएर मन्दिरमा गएका, त्यहाँ भएका पूजामा पशुपन्छीको काटमार भएको रास देख्दा ती निरीह जीवको बलि चढाएर पुण्य प्राप्ति नहुने अनुभव गरेको कुरा निबन्धमा प्रकट गरेकाले विचारतत्व आलोचनात्मक छ । तीन पृष्ठसम्म फैलिएको यो निबन्ध शैली संस्मरणात्मक छ भने शिल्प वा ढाँचालाई वस्तुपरक मान्न सकिन्छ । माथिका अन्य निबन्धमा भन्दा यस निबन्धमा विचारको प्रवाह प्रबल देखिन्छ, किनभने धर्मका नाममा विकृति हुनु नराम्रो कुरा हो जसको आलोचना निबन्धकारले झैँ हामीले पनि गर्नुपर्छ ।
शोधनायकको अर्को निबन्ध ‘धन्यवाद धरावासी’ रहेको छ । प्रस्तुत निबन्ध वर्णनप्रधान, संस्मरणप्रधान तथा प्रशंसाप्रधान निबन्धको रूपमा रहेको पाइन्छ । पारिवारिक विषयवस्तु भएको यस निबन्धमा २०४५ सालको भूकम्पको प्रसङ्गलाई निबन्धमा विषय बनाइएको छ । निबन्धकार सुब्बाले २०४५ साल भाद्र महिनाको भूकम्पलाई निबन्धको केन्द्रबिन्दु बनाएका छन । भूकम्प गएप्छि धमाधम धनजनको क्षतिका समाचारहरू आउन थाले । निबन्धकारले भने कृष्ण धरावासीको ‘बालक हराएको सूचना’ हेर्न पाए त्यसबेला उनलाई घरमा छोडिएका बालक र परिवारको सम्झना आयो अनि उनले सम्झे चाहिएको बेला अभिभावकत्व दिन नसक्ने बुबा, माया दिन नसक्ने पतिको भर छैन । यहाँ रुस पढ्न नजाने अठोट गरेका कुराको वर्णन गरेका छन् । यसको शैली प्रस्तुतीकरण संस्मरणप्रधान छ भने ढाँचाको प्रवाह वर्णनप्रधान, प्रशंसाप्रधान मान्न सकिन्छ । विचारतत्वमा राम्रो सेवा गर्ने साहित्यकार प्रशंसा गर्न लायक छन् भन्ने हो । यो तीन पृष्ठसम्म फैलिएको छ ।
शोधनायकको अर्को निबन्ध ‘जदौ दाहाल यज्ञनिधि’ रहेको छ । प्रस्तुत निबन्ध वस्तुपरक शैलीमा लेखिएको छ । यस निबन्धमा रेडियो नेपालका साहित्यिक कार्यक्रमका सञ्चालक दाहाल यज्ञनिधिको प्रशंसालाई विषयवस्तु बनाइएको छ । निबन्धकार सुब्बाले आफ्नो रचना रेडियो नेपालमा पठाएको र त्यो रचना रेडियो नेपालबाट दाहालले प्रस्तुत गरेको कुरालाई स्थान प्रदान गरेका छन् । सुब्बाले दाहालजस्तै चर्चाको शिखरमा पुग्न नसके पनि साहित्य साधनाले निकै उचाइमा पु¥याउँछ भन्ने विचार व्यक्त गरेका छन् । यो निबन्ध पाँच पृष्ठसम्म फैलिएको छ । शैली संस्मरणात्मक छ भने शिल्प वा ढाँचा वस्तुपरक, प्रशंसाप्रधान र आफू परिधीय दृष्टिबिन्दुमा छन् ।
शोधनायकको अर्को निबन्ध ‘साहित्यकार इमानदार हुन्छ’ रहेको छ । प्रस्तुत निबन्ध आत्मपरक शैलीमा लेखिएको संस्मरणात्मक निबन्ध हो । समसामयिक परिवेशलाई विषय बनाई लेखिएको यो निबन्धमा साहित्यकारका बारेमा चर्चा गरिएको छ । निबन्धकार आफू पनि साहित्यकार भएको र त्यस्तै अरू साहित्यकारमा विजय, छहरा र बद्री पलिखेसँगको निबन्धकारको भेटलाई निबन्धको विषय बनाइएको छ । देशका लागि इमानदारीपूर्वक बोल्ने फुर्सद साहित्यकारलाई मात्र हुन्छ भन्दै जीवन जगत्का यावत् विषयवस्तुलाई गम्भीरतापूर्वक सोच्ने र आफ्ना भावना पोख्ने साहित्यकार नै हुन् भन्ने कुरा निबन्धमा प्रस्तुत भएका छन् । प्रस्तुत निबन्ध दुई पृष्ठसम्म फैलिएको छ र आत्मपरक शैलीमा लेखिएको छ । शिल्प वा ढाँचा वर्णनात्मक तथा वस्तुपरक मान्न सकिन्छ र साहित्यकारको प्रशंसा विचारतत्व हो, उसको सम्मान गर्ने लक्ष्य हो ।
शोधनायकको अर्को निबन्ध ‘स्रष्टाप्रति समाजको अपेक्षा’ रहेको छ । प्रस्तुत निबन्ध संस्मरणात्मक ढाँचामा लेखिएको छ । साहित्य र सिर्जना समाजका अमूल्य निधि हुन् भन्ने कुरालाई विषयवस्तु बनाइएको छ । यस निबन्धमा निबन्धकारले साहित्यलाई समाजको एउटा महत्वपूर्ण पक्ष मानेका छन् । साहित्यको प्रभाव समाज, राष्ट्र र विश्वमै परिरहेको हुन्छ । यसलाई मध्यनजर गरी साहित्यकारले साहित्य सिर्जना गर्छ तर त्यसबाट समाजले के पायो वा के अपेक्षा राख्यो, यो नै महत्वपूर्ण विषय हो भन्ने कुरा निबन्धमा प्रकाश गरिएको छ । चार पृष्ठसम्म फैलिएको यो निबन्धको शैली संस्मरणात्मक छ भने ढाँचा वा शिल्पपक्ष विचारप्रधान मान्न सकिन्छ । पुरस्कार र सम्मान भनेपछि केही प्रेरणा मिल्छ भन्ने विचार प्रबल छ ।
शोधनायकको अर्को निबन्ध ‘टेलिफोन र थुतुना’ रहेको छ । यो निबन्ध वर्णनप्रधान मान्न सकिन्छ । यो निबन्ध समसामयिक सञ्चारको साधन र मानिसको स्वभावलाई केन्द्रबिन्दु बनाई लेखिएको छ । निबन्धकारले यस निबन्धमा पढेर होइन परेर जानिन्छ भन्ने उक्तिलाई मध्यनजर गर्दै सञ्चार माध्यमको तीब्र विकाससँगसँगै विकृति पनि भित्रिएको कुरा प्रस्तुत गरेका छन् । यसको शैली आत्मपरक छ भने शिल्प वा ढाँचा वर्णनप्रधान मान्न सकिन्छ । यो निबन्धको विचारतत्व शिष्ट, सभ्य भाषाको मोह हो । यो निबन्ध तीन पृष्ठसम्म फैलिएको छ ।
शोधनायकको अर्को निबन्ध ‘पशुप्रति मानवीय संवेदनशीलता’ हो । यो निबन्ध पशुलाई विषय बनाई लेखिएको छ । पशुपक्षीमाथि मानिसले गर्ने अमानवीय व्यवहारलाई यस निबन्धमा प्रस्तुत गरिएको छ । कुनै पनि देशमा पशुपक्षीप्रति बढी निर्दयता र क्रूरता देखाइन्छ भने त्यस क्षेत्रमा बढी हत्या, हिंसा हुने गर्दछन् । यो कुरा वैज्ञानिक अध्ययनले प्रमाणित गरेको तथ्यलाई अघि सारेर यस निबन्धमा निबन्धकारले पशुप्रति हाम्रो समाजमा हुने गरेको क्रूर व्यवहारको विरोध गरेका छन् । प्रस्तुत निबन्ध आत्मपरक शैलीमा लेखिएको छ भने शिल्प वा ढाँचा वर्णनप्रधान मान्न सकिन्छ । यस निबन्धको विचारतत्व यो संसार सबैको साझा हो भन्ने हो । यो निबन्ध तीन पृष्ठसम्म फैलिएको छ ।
लेखकको अर्को निबन्ध ‘पुस्तकालय’ शीर्षकमा आएको छ । प्रस्तुत निबन्ध विवरणप्रधान मान्न सकिन्छ । यो निबन्ध झापाको चन्द्रगढीमा अवस्थित लेखनाथ पुस्तकालयमा भएको एक वार्षिक कार्यक्रमलाई विषयवस्तु बनाई लेखिएको छ । यसकै केन्द्रीयतामा त्यहाँका अन्य गतिविधिलाई पनि चिनाउने प्रयास गरिएको छ । वास्तवमा पुस्तकालय भनेको टेबल, कुर्सी र पुस्तकहरू मात्र होइनन्, राष्ट्रिय रूपमा रहेका ज्वलन्त समस्याहरू हुन् । तीन पृष्ठसम्म पैmलिएको यस निबन्धको शैली संस्मरणप्रधान मानिन्छ । शिल्प वा ढाँचा विवरणप्रधान मान्न सकिन्छ । यस निबन्धको विचारतत्व सांस्कृतिक सम्पदाको माया गर्ने भावना हो ।
शोधनायकको अर्को निबन्ध ‘बैंकक सहरमा कोइलीको स्वर’ रहेको छ । यस निबन्धलाई संस्मरणप्रधान र नियात्रामूलक मान्न सकिन्छ । निबन्धकार सुब्बा बैंककको सहरमा घुम्न गएको बेला र त्यहाँ बस्दाको अनुभूति बताउँदै बैंकक सहर अत्यन्त सुन्दर, सफा, कोलाहलविहीन भएको विषय निबन्धमा प्रकाश गरेका छन् । त्यहाँका मानिसहरू पनि धेरै सभ्य, सहयोगी भावना भएका छन् भनी उल्लेख गरिएको छ । प्रस्तुत निबन्धको ढाँचा संस्मरणप्रधान छ भने शिल्पमा गतिको एकरूपता रहन्छ । यस निबन्धको विचारतत्व प्रकृति सुन्दर छ तर मान्छेले बिगार्छ भन्ने हो ।
शोधनायकको अर्को निबन्ध ‘स्मृतिका छालहरूमा प्रधान बा’ हो । प्रस्तुत निबन्ध संस्मरणप्रधान हो । जागिर खाने सिलसिलामा तेह्रथुम जिल्लाको मोराहाङ्ग गाविसको स्वास्थ्यचौकीमा इन्चार्ज भएको समयमा एकजना बूढा व्यक्तिसँग भएको भलाकुसारीलाई लेखकले मुख्य विषयवस्तु बनाएका छन् । प्रधानबाका घरमा गरिएको भलाकुसारी तथा प्रधानबाले लेखकलाई हलुवावेत तथा सुन्तला खान दिएको कुरा अविस्मरणीय रहेर आएको छ । मानवीय सम्बन्ध प्रगाढ हुन्छ भन्ने कुरा यस निबन्धले देखाएको छ । प्रस्तुत निबन्ध आत्मपरक तथा संस्मरणप्रधान ढाँचामा लेखिएको छ । शिल्प पक्षमा अलङ्कार र वक्रोक्ति सहायक साधन रहेका छन् । गाउँको माया पनि एक प्रबल विचारतत्व हो । यो निबन्ध चार पृष्ठसम्म फैलिएको छ । शोधनायकको अर्को निबन्ध ‘भोगाइको अनुभूति र प्राप्ति’ रहेको छ । यो निबन्ध संस्मरणात्मक हो । यस निबन्धमा समसामयिक बौद्धिक विषयलाई संस्मरणात्मक ढाँचामा प्रस्तुत गरिएको छ । निबन्धकार सुब्बाले यहाँ आफँै आफ्नो जीवनमा भोगेका र प्राप्त गरेका विषयलाई प्रस्तुत गरेका छन् । शारीरिक संरचना र वंशानुगत रूपले उनी त लाहुरे हुनुपर्ने हो तर उनी त जनस्वास्थ्य कार्यालयका अधिकृत रहेका छन् र विषयमा विभिन्न ठाउँमा भएका टीकाटिप्पणीलाई पनि यस निबन्धमा स्थान दिएको पाइन्छ । प्रस्तुत निबन्ध तीन पृष्ठसम्म फैलिएको छ । प्रस्तुत निबन्धको शैली आत्मपरक वा संस्मरणप्रधान मान्न सकिन्छ । शिल्प वा ढाँचालाई वर्णनात्मकताभित्र आफँैलाई अटाउने काम गरिएको छ । यसमा सडकमा उत्रिनुपर्छ भन्ने विचारतत्व प्रबल छ ।
त्यसैगरी शोधनायकको ‘मनको मझेरी’ सङ्ग्रहभित्रको अन्तिम निबन्ध ‘तालु’ रहेको छ । यो वस्तुपरक निबन्ध हो । यसको मूल विषय भाग्य र निधारसँग आबद्ध छ । जीवनमा परिवर्तन ल्याउनु छ भने परिश्रम गर्नुपर्छ अनि मात्र साँच्चै तालुमा आलु फल्दछ भन्ने कुरालाई सुब्बाले महत्वका साथ उल्लेख गरेका छन् । यसरी हाम्रो सामाजिक सोचाइहरूमा परिवर्तन हुन जरुरी छ । सबै तालु खुइलेहरू धनी र प्रतिभाशाली हुन सक्दैनन् । तालु खुइले त विभिन्न रोगका कारक पनि हुन सक्छन् । यसरी सुब्बाले ‘तालु’ निबन्धमार्फत परिश्रममा विश्वास गर्ने र भाग्यलाई दोष दिन नहुने मार्मिक कुरा उल्लेख गरेका छन् । यसको विचारतत्व श्रमसँग आबद्ध छ श्रमले नै मानिसहरू ठूला भएका छन् भनिएको छ । यो निबन्ध तीन पृष्ठसम्म फैलिएको छ ।
सुब्बाका निबन्धहरूमा ‘नयाँ नेपालको चित्र’ उच्च स्तरको निबन्ध हो । यसमा अनुच्छेद योजना, विषयवस्तु क्रमको शृङ्खला मिलेको पाइन्छ । यसमा कमजोरका पक्षमा गम्भीर र सहानुभूति दर्शाइएको छ । लेखक आफँै यस निबन्धका एउटा पात्र रहेका छन् । त्यसैगरी ‘तस्बिरमा पोखिएका कविताहरू’ विषयको चयनमा सूक्ष्म दृष्टि पुगेको निबन्ध हो । नेपालीहरूलाई दुखेको घाउ यस निबन्धको विषय रहेको छ । चित्रमा पनि गम्भीर वेदना लुकेका हुन सक्ने देखाइएका यस्ता निबन्धले प्रेरणा र सहानुभूति तथा समानताको अनुभूति विकास गराउने देखिन्छ । त्यस्तै ‘एकजोडी परेवा’ यस निबन्ध सङ्ग्रहको विषय र चयनमा सूक्ष्म दृष्टि पुगेको निबन्ध हो । ती एकजोडी परेवामा पशुका हत्याका प्रतिबिम्ब कोरिएका छन् । कसैले शान्तिका लागि उडाएका परेवाहरू धर्मका नाममा काटेर खाइन्छन्, त्यसकारण यस्ता निबन्धले सचेत रहन भक्तजनसँग आग्रह गर्छ । यो निबन्ध विषयवस्तुको चयनमा सूक्ष्म दृष्टि पुगेको निबन्ध हो भन्न सकिन्छ । तथापि यस प्रकारका निबन्धहरू सुब्बाले लेखेका छन् । सुब्बाको अर्को निबन्ध ‘पशुप्रति मानवीय संवेदनशीलता’ पनि हो । यस निबन्धले पृथ्वीलाई सबैको साझा घर हो भन्ने देखाउँछ । वैज्ञानिक दृष्टिले पनि पशुलाई मार्नुभन्दा अगाडि यातना दिनु हुँदैन । मार्ने उद्देश्यले कुखुरा झुन्डाएर लगेको चित्रलाई हेर्दा पशुभन्दा मान्छे धेरै तल रहेको ठहर गर्न सकिन्छ । यी निरीह पशुहरू मानिसको प्रेमको आशामा बाँचेका हुन्छन् भन्ने सन्देश यस्ता निबन्धमा पाइन्छ । यसैप्रकारको ‘तालु’ निबन्ध दिमागका बारेमा लेखिएको निबन्ध हो । तालु सबैको उस्तै हो तर कसैको कपाल खुइलो भएर तालु ठूलो हुन सक्छ । परिश्रम नगरी तालुमा आलु फल्दैन, त्यसकारण परिश्रम गर्नु हाम्रो दायित्व पनि हो । यस्ता राम्रा विषय भएका निबन्धहरूलाई शोधार्थीले प्रथम श्रेणीका निबन्धमा स्थापित गरेको कुरामा एक विश्राम लिन सकिन्छ । परशु प्रधानले भूमिकाबाट धेरै कुरा सङ्केत गरेका छन्, जसलाई यी निबन्धको महत्वपूर्ण पाटो मान्न सकिन्छ । सुब्बाको भाषा सहज र सरल छन् । आफ्नो कुनै पनि कुरा स्पष्ट र निर्भीक रूपमा प्रस्तुत गरेका छन् ।
दोस्रो तहका निबन्धहरू ‘श्रद्धाञ्जली एउटी लिम्बूनीलाई’ भन्ने निबन्धमा अत्यन्त नवीन जस्ता भएर आएका छन् । वास्तवमा जिउनलाई मानिस बेलाबेला कति कठोर बन्नुपर्दोरहेछ जस्तो वाक्यले मान्छेको मर्का बुझेको अनुभूति गरिन्छ । आमाका रूपहरू निबन्धमा महिलाको जीवनप्रति सहानुभूति राखिएको छ । त्यसकारण नारीहरू दयाका सागर हुन्छन् भन्ने कुरा आमाका रूपहरूमा प्रकाश गरिएकाले यो एउटा स्तरीय निबन्ध हो । ‘तरकारी बेच्ने महिला’ निबन्धलाई स्तरीय निबन्ध मान्न सकिन्छ र यसमा साना कुरालाई आँखा गाढेर हेरिएको छ । सहानुभूति राख्ने ठाउँ त्यस्तै हुन्छ भनेर बोध गराउने यो निबन्ध सामाजिक महत्वका दृष्टिले सुन्दर छ । ‘जन्तरे सरको टक्करी ट्वाक’ बाल्यकालको सम्झना बोकेको एउटा निबन्ध हो जसले कमजोरका पक्षमा लाग्न सन्देश दिन्छ । यसमा भनिएको छ “जे होस् आज मलाई गरिबका पक्षमा कमसेकम उभिन, केही गर्न, बोल्न र लेख्न नै आनन्द लाग्छ ।” यस्ता वाक्यहरू त्यसै पनि रहरलाग्दा हुन्छन् । ‘धन्यवाद धरावासी’ स्तरीय निबन्ध हो । यसमा लेखकबाट मान्छेको जीवन बन्दोरहेछ भन्ने तथा मोडिँदो रहेछ भन्ने बुझिएको छ, जूनका छायाँले मात्र मन कहाँ शीतल हुन्छ जस्ता वाक्यहरू त्यसै पनि साहित्यिक मर्म धान्ने खालका छन् । ‘साहित्यकार इमानदार हुन्छ’ निबन्धमा असल साहित्यकारको खोजी गरिएको छ । असल साहित्यकार त्यो हो जसले देशको लागि इमानदारीपूर्वक बोल्ने, लेख्ने फुर्सद साहित्यकारलाई मात्र हुन्छ । त्यस्तै ‘स्रष्टाप्रति समाजको अपेक्षा’ निबन्धमा सृजना गर्ने मानिसको सामाजिक महत्व रहेकाले विषय सुन्दर छानिएको छ, यसमा लेखिएको छ प्याजको पत्र खोल्दा केही हात नलाग्ने, तर खाँदा सधैं स्वादिलो प्याजझैँ लाग्ने रचना लेख्ने र पढ्न नै मनपनर्छ किन ? भनिएको छ । ‘टेलिफोन र थुतुना’ निबन्धमा सामाजिक महत्वको निबन्धमा अनुशासन सिकाइएको छ । राम्रो बोल्नु भनेको संसारमा सबैलाई जित्नु हो । बोल्न जाने ज्यान जाने बेलामा पनि बाँच्न सकिन्छ । पुस्तकालय ज्ञानका लागि स्थापना भएका संस्थाहरू हुन् । एउटा पुस्तकालयले पैसा तिर्न नसक्नेहरूका लागि मूल्य नतिरी सहयोग गर्छ, त्यसैले पुस्तकको माया गर्नु पुस्तकालय निबन्धको उद्देश्य हो । युग हाँक्ने पथप्रदर्शकको भूमिका पनि खेल्दोरहेछ पुस्तकालयले भनिएको छ । ‘बैंकक सहरमा कोइलीको स्वर’ निबन्ध प्राकृतिक गानाको स्वागत गर्छ । त्यसैले यो स्तरीय निबन्ध हो । विषयमात्र होइन प्रस्तुतीकरण पनि सरल र स्पष्ट छ । ‘स्मृतिका छालहरूमा प्रधानबा’ निबन्ध गाउँको माया गरिएको निबन्ध हो । यसमा आत्मीय माया गाउँमा पाइन्छ भन्ने विषय रहेको छ । विषय मात्र होइन प्रस्तुतीकरणमा भोगाइहरू सलबलाएका हुनाले निबन्ध स्तरीय रहन्छ ।
सामान्य तहका निबन्धहरू पनि छन् र त्यस्ता निबन्धहरूलाई सामान्य तहमा राख्नुपर्ने कारणहरू पनि छन् । ‘हाक्पारे सङ्गीत’ निबन्धमा विषयको चयनमा सूक्ष्म दृष्टि पुगेको भए पनि यसमा बीचबीचमा गीत हालिएको हुँदा निबन्धको धर्म विचलित भएको जस्तो देखिन्छ । तर लिम्बूहरूको गीत हुनाले विषयलाई सांस्कृतिक सम्पदातर्फ झुकेको मान्न सकिन्छ । अर्को निबन्ध ‘गीतसङ्गीतभित्र देश र जीवन खोज्दै’ जाँदा जनजीवनको विषयबाट उठेको निबन्ध हो । त्यस्ता कतिपय निबन्धमा बीचबीचमा गीतहरू भएकाले निबन्धको स्तरभन्दा पनि विधागत धर्म भाँचिएको छ । मायाप्रीतिका कुरा, सुरासुन्दरीका बयान, सिद्धान्तका नारा आदि आजकाल कला र साहित्यमा अटाई नअटाई आउने गर्दछन् । तर यसले मात्र जीवनको रथ चल्दैन । जीवन र जगत् जगाउने साथै जोगाउने गीत पनि चाहिन्छन् जस्ता भनाइ छन् । अर्को निबन्ध ‘जदौ दाहाल यज्ञनिधि’ निबन्ध व्यक्तिलाई सम्झेर लेखिएको निबन्ध हो । दाहाल यज्ञनिधि राष्ट्रिय स्तरका साहित्यकारका बारेमा लेखिएको यो निबन्ध विषय चयनमा सूक्ष्म दृष्टि पुगेको भए पनि बीचमा आउने कविताहरूले विधा मिश्रण गराएका छन् । अर्को निबन्ध ‘भोगाइको अनुभूति र प्राप्ति’मा लाहुरे र पत्रकार व्यक्तित्वको कुरा आएको छ । आफ्नै कवितासङ्ग्रहको एउटा सन्दर्भ र आत्नै विषयका धेरै गनथन भएकाले यसलाई अति सामान्य निबन्ध मान्न पनि सकिन्छ किनभने कविताका अंश–अंश निबन्धका लागि अनुकूल दफा होइनन् भन्ने शोधार्थीको तर्क रहेको छ ।
परशु प्रधानले भनेझैँ सुब्बाले लिएका विषयहरू समसामयिक र प्रसङ्गका हुन्छन् । आजको नेपाल र विश्वले भोगिरहेका, देखिरहेका प्रसङ्गहरू उनका निबन्धका विषयहरू बनेका छन् ।
नवराज सुब्बाले दिएको प्रश्नोत्तरभित्रका भनाइहरू समीक्षा गर्न लायक छन् । उनले निबन्ध लेखनको मूलभूत अभिप्रायलाई अन्तिम प्रश्नमा समेटेका छन् । निबन्धलाई रोचक र सुन्दर बनाउने प्रयास गरेको कुरा रमाइलो छ र असल छ । निबन्धकारले गुरु हुन नचाहेको र मित्रझैँ गफ गर्न चाहेको कुरा पाठकसँग अनुरोध गरेका छन् । उनको अनुभव ऊर्जा बनेर आएको छ जसलाई उनले सार्वजनिक सम्पत्ति भनेका छन् । अरु कुरा आफूलाई बढाइचढाइ नगरी दिएको अभिव्यक्ति लेखक सुहाउँदो प्रतिक्रिया हो । उनको भनाइ र गराइमा एकरुपता पाइन्छ ।
निबन्ध जीवनको भोगाइ हो । अनुभव र अवलोकनपछिको आफ्नो उपस्थिति तथा आत्मसात् गर्ने क्षमताको उपलब्धि हो । उनका निबन्धलाई हेर्दा स्वाभाविकता झल्कन्छ । स्मरण र आत्मवृत्तान्त आरोपित हुन्छन्, शाश्वत सत्यमाथि लेखकको अनुराग छ । रीतिथिति नराम्रा छन् भने आलोचना पनि गरिएको छ । परम्परागत निबन्धभन्दा यी निबन्ध शीर्षकबाटै फरक लागेका छन् । यसको उदाहरणका लागि ‘तस्बिरमा पोखिएका कविताहरू’लाई लिन सकिन्छ । यी निबन्धहरू पत्रकारिताबाट प्रभावित छन्, त्यसैले अत्यन्त मिल्ने गरी छोटा छन् । पत्रकारिता र साहित्यकारको घनिष्ट सम्बन्ध यी निबन्धमा पाइन्छ । मानवको माया गर्ने निबन्धकारको निबन्धसङ्ग्रहमा यी माथिका विशेषता रहेको ठहर तथा निष्कर्ष हुन्छ । मूलतः उनका निबन्धको प्रस्तुतीकरण शिल्पलाई हेर्दा आफूलाई परिधीय पात्र बनाउने र विषयवस्तु अर्कै हुने धर्म देखिएको छ ।
Book download

४. कृति : नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन
लेखक : चूडामणि बराईली
विधा : अनुसन्धान
प्रकाशन : २०६७
प्रकाशकः http://www.nrsubba.com.np

शोध निर्देशक : श्री शान्तिराम मिश्र, उपप्राध्यापक,
२) विभागीय प्रमुखः श्री कमलप्रसाद गुरागाईं, सहप्राध्यापक
३) अनुसन्धान प्रमुख : डा.द्रोणकुमार उपाध्याय, सहप्राध्यापक
४) श्री त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, मेची बहुमुखी
क्याम्पसको नेपाली विभाग, भद्रपुर, झापा, नेपाल (मिति मितिः २०६७ ।४।२१)
निष्कर्ष र उपसंहार

ताप्लेजुङ जिल्लाको हाङपाङ गाविस वडा नं. ६ चुँवा गाउँमा २०१८ साल असोज १६ गते सोमबारका दिन जन्मेका नवराज सुब्बा बुबा ऐतराज र आमा नरमायाका जेठा सुपुत्र हुन् । उनको प्रारम्भिक र माध्यमिक शिक्षा हाङपाङकै सरस्वती मा.वि.बाट भयो । त्यहींबाट २०३३ सालमा एस.एल.सी.परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेर उनी उच्च शिक्षाका लागि काठमाडौं गई चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी २०३७ सालमा आफ्नै गाउँ हाङपाङमा हेल्थपोष्टको इन्चार्ज भई खटिएर आए । त्यहाँ रहँदा उनले कार्यालय समयपछि आफू पढेको विद्यालयमा पढाउने काम पनि गरे । जागिरसँगै शिक्षाको क्रम पनि अघि बढाउँदै उनले नेपाली साहित्य तथा जनस्वास्थ्य विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरे ।
निरन्तर स्वास्थ्यक्षेत्रमा सेवारत सुब्बा विभिन्न ठाउँमा जिल्लान्तर सरुवा र बढुवा हुँदै २०५१ सालदेखि हालसम्म नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत जनस्वास्थ्य अधिकृत भई हाल मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयमा प्रशासक तथा वरिष्ठ प्रशासकको रूपमा कार्यरत छन् । उनको २०३९ सालमा ताप्लेजुङ चाँगे दोभानका रामबहादुर तथा दक्षकुमारी श्रेष्ठकी छोरी चञ्चला श्रेष्ठसँग अन्तर्जातीय प्रेमविवाह भएको हो । उनका दुई छोरा कौशल र निश्चल, एक बुहारी निशा थापा र एक नाति छन् । सुरुमा सामान्य ग्रामीण परिवेशमा जन्मिएका नवराज सुब्बा जागिरको लामो दौरानपछि हाल विराटनगर उपमहानगरपालिका वडा नं. ६ स्थित शान्ति चोकमा स्थायी बसोबास गर्दै आएका छन् । उनको मुख्य आयस्रोत सरकारी सेवा नै हो र हाल उनका एक छोरा वैदेशिक राजगारीमा छन् । उनी सहयोगी, मिजासिला, मृदुभाषी, हँसिला र हठी स्वभावका छन् । उनी नेपाल रेडक्रस सोसाइटी, वाणी प्रकाशन विराटनगर, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर, स्वजन साहित्यिक समाज काठमाडौं, स्रष्टा समाज काठमाडौं, नाट्येश्वर नृत्यकला प्रशिक्षण केन्द्र विराटनगर, किरात याक्थुङ चुम्लुङ विराटनगर, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल जनस्वास्थ्य संघ लगायतका विभिन्न संस्थामा आबद्ध रहेका छन् ।
गोदबा २०४७ लगायतका आठ–नौ वटा पुरस्कार, सम्मान र पदक प्राप्त गरेका नवराज सुब्बा एक सफल साहित्यकार हुन् । उनका तीनवटा पुस्तकाकार कृतिहरू प्रकाशित भइसकेका छन् भने उनले अन्य केही गीति एल्बम पनि निकालेका छन् । उनका साहित्यिक कृतिहरूको अध्ययन गर्दा उनी आधुनिक नेपाली साहित्यको समसामयिक धाराका स्वतन्त्र लेखकका रूपमा रहेका छन् । वर्तमान नेपालको समसामयिक सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक अवस्थाका सजीव चित्र उनले आफ्ना कविता, निबन्ध, गीतहरूमा प्रस्तुत गरेका छन् ।
२०३० सालबाट लेखनको क्षेत्रमा पाइला हालेका सुब्बाले केही फुटकर रचना पत्रपत्रिकामा छपाएका छन् तर ती हाल उपलब्ध छैनन् । २०३५ सालदेखि २०३८ सम्म सृजनामा सक्रिय रहेका सुब्बा त्यसपछि निकै वर्ष गुप्तबास बसेर २०६३ सालमा लगभग अढाइ दशकपछि मात्र ‘जीवन मेरो शब्दकोशमा’ कविता संग्रह लिएर देखा परेका हुन् । उनले उक्त कविताहरूमा तत्कालीन नेपाली समाज, सामाजिक तथा सांस्कृतिक अवस्थाहरूको चित्रण गरेका छन् । उनले त्यहाँ नेपाली समाजको यथार्थ वस्तुस्थिति, तत्कालीन नेपालको राजनीतिक द्वन्द्व तथा निम्नवर्गीय नेपाली समाजको वास्तविकतालाई कविताको विषय बनाएका छन् । उनको दोस्रो कवितासङ्ग्रह ‘बीच बाटोमा ब्यूँझेर’ (२०६५) हो । यसमा ७७ वटा कविता सङ्कलित छन् । स्वतन्त्र लेखनशैली अवलम्बन गर्ने सुब्बाका यस सङ्ग्रहभित्रका कविताहरूमा सामाजिक यथार्थ, मानवता, बिम्बप्रतीकात्मकता, प्रकृतिचित्रण, जीवनवादी दृष्टिकोण, राष्ट्रप्रेम, प्रणयभाव जस्ता प्रवृत्तिहरूको प्रयोग भएको छ ।
समग्रमा उनका कविताको अध्ययनबाट स्वच्छन्दता, सामाजिक यथार्थ, मानवता, प्रकृतिप्रेम, राष्ट्रवादी र प्रगतिवादी कविका रूपमा सुब्बालाई चिन्न सकिन्छ । उनी मुक्तलयलाई कविताको सहज माध्यम बनाउँछन् । मुक्तक र गीतमा पनि कलम चलाउने सुब्बाका अधिकांश कविताको भाषा सरल र स्वाभाविक छ । केही कवितामा आलङ्कारिक प्रस्तुति पनि पाइन्छ । साथै उनका कवितामा सूत्रात्मक र वस्तुपरक प्रस्तुति पनि पाइन्छ ।
सुब्बाको दोस्रो कृति ‘मनको मझेरी’ निबन्धसङ्ग्रह (२०६४) हो । यस सङ्ग्रहमा बीसवटा निबन्ध सङ्कलित छन् । यी निजात्मक र परात्मक दुवै खाले छन् । विशेषतः उनका निबन्धका विषयमा संस्मरण, आत्मवृत्तान्त, नियात्रा, रिपोर्ताज, आदि विविध ढाँचा र शैलीका छन् । उनका अनुभव, अनुभूति र शाश्वत् सत्यतथ्यलाई पनि उनका निबन्धमा वस्तुपरक रूपमा प्रस्तुत गरेका छन् । ती निबन्धमा पहाडी जनजीवन, सामाजिक रीतिस्थिति, धार्मिक विषय आदिले पनि प्रवेश पाएका छन् । उनका निबन्धमा प्राकृतिक चेतना, विचारमा खुल्लापन, मानवीयताको सुन्दर पक्ष पनि प्रस्तुत भएको पाइन्छ । भाषा सरल, सरस, स्पष्ट छ भने प्रस्तुतिमा निर्भीकता स्पष्ट देखिन्छ ।
समग्रमा भन्दा नवराज सुब्बा एक सशक्त कवि, निबन्धकार, गीतकार र कुशल राष्ट्रसेवक कर्मचारी पनि हुन् । साथमा उनी साङ्गीतिक चेतना र रुचि भएका सङ्गीतसाधक पनि हुन् । नेपाली साहित्यका कविता र गीत उपविधाका साथै निबन्ध विधाका स्रष्टा नवराज सुब्बा नेपाली साहित्यका एक बहुमुखी स्रष्टा हुन् ।
Book download