Posts

Showing posts from March 1, 2026

मुन्धुमी सौन्दर्यको जीवन्त सेतु: साम्बादेखि येबासम्म

(निबन्ध) डा. नवराज सुब्बा पहाडको थुम्कोमा साँझपख घाम ओझेल पर्दै गर्दा कतै टाढाबाट च्याब्रुङको मन्द आवाज सुनियो भने बुझ्नुहोला—मुन्धुमले आफ्नो सुसेली हाल्न सुरु गर्यो। मुन्धुम भनेको कुनै दराजमा थन्किएको पुरानो किताब होइन, न त यो कुनै निर्जीव अक्षरहरूको थुप्रो नै हो। यो त हाम्रो सास फेर्ने शैली हो। तर, यो मुन्धुम त्यसै हावामा भने बाच्दैन। यसलाई हामीसम्म ल्याउने, हामीलाई महसुस गराउने र हाम्रो आत्मासँग जोडिदिने काम त हाम्रा ती विशिष्ट पात्रहरूले गर्छन्, जसलाई हामी साम्बा, फेदाङमा वा येबा भन्छौँ। साच्चै भन्ने हो भने, यी विशेषज्ञहरू बिना मुन्धुमको त्यो अतीन्द्रिय (Transcendental) सौन्दर्य एउटा बासी कथा जस्तो मात्र हुन्थ्यो। मैले कति पटक पहाडका उकाली-ओराली गर्दा अनुभव गरेको छु, जब एउटा साम्बाले मुन्धुम फलाक्न सुरु गर्छन्, त्यहाँको हावा नै परिवर्तन भए जस्तो लाग्छ। साम्बाको त्यो मधुर भजन, जसलाई हामी 'साम्लो' भन्छौँ, त्यसको लय यस्तो हुन्छ कि सुन्ने मानिसको 'निङ्वा' (मन) आफैँ शान्त भइदिन्छ। साम्बाको घाँटीबाट निस्कने ती आदिम शब्दहरूमा हाम्रा पुर्खाहरूको हजारौँ वर्ष पुरानो संवेग ल...